सिटीको उत्कृष्ट पुनरागमन, च्याम्पियन्स लिगमा रियालमाथि पहिलो जित

काठमाडौं। उत्कृष्ट पुनरागमन गरेको म्यानचेस्टर सिटीले गएराति च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा रियाल मड्रिडविरुद्ध २-१ को नतिजा निकालेको छ।

भ्रमणकारी सिटीले एक शुन्यले पछि परेको स्थिति उल्टाउँदै महत्वपुर्ण अवे जित हात पारेको हो।

रियालले ६०औं मिनेटमा इस्कोको गोलबाट अग्रता लिएको थियो।

रोड्री र निकोलस ओटामेन्डीबीच तालमेल नहुँदाको फाइदा लिँदै भिनियस जुनियरले बल खोसेर दिएको पासमा इस्कोले गोल गरेका थिए।

लगत्तै सिर्जियो रामोसले टोलीको अग्रता दोब्बर बनाउने मौका गुमाए।

७८औं मिनेटमा गाब्रियल जिससले केभिन डी ब्रुयनाको पासमा बराबरी गोल फर्काए। खेल सकिन सात मिनेट बाँकी रहँदा सिटीले पेनाल्टी अवसर पायो। जसलाई डी ब्रुयनाले कुनै गल्ति नगरी गोलमा परिणत गरे।

रियालका रक्षक ड्यानियल कार्भाहालले रहिम स्टर्लिङलाई पेनाल्टी क्षेत्रमा फाउल गरेपछि सिटीले पेनाल्टी अवसर पाएको थियो।

खेल सकिन ६ मिनेट बाँकी छँदा कप्तान रामोसले रातो कार्डको सामना गरेपछि रियालले बाँकाी समय दश खेलाडीमा खेलेको थियो।

च्याम्पियन्स लिगमा सिटीले रियाललाई पराजित गरेको यो पहिलो पटक हो।

यससँगै सिटीले क्वार्टरफाइलनको यात्रा बलियो बनाएको छ। सिटीले अब दोस्रो लेग १७ मार्चमा मैदान इतिहाद रंगशालामा खेल्नेछ।

च्याम्पियन्स लिग खेलमा रियालले घरेलु मैदानमा अग्रता लिएर पनि पराजित भएको यो दोस्रो पटक हो। यसअघि अक्टुबर २००९ मा रियाल एसी मिलानसँग पराजित भएको थियो।

एक महीनाअघि अर्को दुई सिजन युरोपियन प्रतियोगितामा प्रतिबन्धमा परेको सिटीको समर्थकका लागि यो जित निकै महत्वपूर्ण रह्यो।

क्लबले युइएफएको यस निर्णयविरुद्ध कासमा अपिल गरेको छ।

तर, रक्षक लापोर्टेको चोट भने सिटीका लागि चिन्ताको चिन्ताको विषय बनेको छ।

लापोर्टे घाइते भएपछि पहिलो हाफमै मैदान छाडेका थिए। उनको स्थानमा फर्नाडिन्हो मैदान छिरेका थिए।

प्रतिक्रिया दिनुहोस्