न्युजिल्यान्डसँग भारतको लज्जास्पद हार
काठमाडौं। टीम साउथीले बिहान चार विकेट लिएपछि भारतले दोस्रो इनिङमा १९१ रन जोड्दा सबै विकेट गुमायो।
दश विकेटको जितसँगै न्युजिल्यान्डले दुई खेलको शृंखलामा १-० को अग्रता लिएको छ।
भारतले १४४-४ को स्थितिबाट चौथो दिनको शुरूआत गरेको थियो।
अजिन्क्या रहाने २५ तथा हनुमा विहारी १५ रनको अवस्थामा थिए। भारतले थप ४७ रन जोड्दा सबै विकेट गुमायो।
रहानेले थप चार जोड्दा ट्रेन्ट बोल्टको बलमा विकेटकिपर विजे वाटलिङमार्फत क्याच भए। बिहारीलाई साउथीले बोल्ड गरे।
चार रन बनाएका रविचन्द्र आश्विनलाई पनि साउथीले एलबिडब्यू आउट गरे।
१२ रन बनाएका इशान्त शर्मालाई कोलिन डी ग्राण्डहोमले एलबिडब्यू आउट गरे।
२५ रन बनाएका रिशब पन्तलाई बोल्टमार्फत क्याच गरेका साउथीले जसप्रित बुमराहलाई डिजे मिचेलमार्फत क्याच गरे।
साउथीले दोस्रो इनिङमा ६१ रन दिएर पाँच विकेट लिए।
उनले पहिलो इनिङमा पनि चार विकेट लिएका थिए। पहिलो इनिङमा एक विकेट लिएका बोल्टले दोस्रो इनिङमा चार विकेट लिए।
दोस्रो इनिङमा १९१ रन बनाएको भारतले पहिलो इनिङमा १६५ रन बनाएको थियो।
प्रतिक्रिया दिनुहोस्