भिल्लारियालमाथि एट्लेटिको मड्रिडको जित

काठमाडौं। जाओ फेलिक्सले पुनरागमनलाई सुखद बनाउँदा एट्लेटिको मड्रिडले गएराति स्पेनिस ला लिगामा भिल्लारियाललाई ३-१ ले पराजित गरेको छ।

एट्लेटिकोले एक शुन्यले पछि परेको स्थिति उल्टाउँदै विजय हासिल गरेको हो।

चोटका कारण फेलिक्स लामो समय मैदान बाहिर थिए। गएराति पनि उनी ५७औं मिनेटमा भिटोलोको स्थानमा मैदान छिरेका थिए।

फेलिक्सले ७४औं मिनेटमा कोकेको पासलाई सदुपयोग गर्दै एट्लेटिको तीन अंक पक्का गरे।

मशलमा लागेको चोटका कारण फेलिक्स गत जनवरीदेखी मैदान बाहिर थिए।

२० वर्षे फेलिक्स यसै सिजनमात्र बेनफिकाबाट १२ करोड ६० लाख अमेरिकी डलरमा एट्लेटिकोसँग अनुबन्ध भएका हुन्।

उनले सबै प्रतियोगितामा गरी पाँच गोल गरिसकेका छन्।

‘‘फेलिक्सबाट के अपेक्षा गरिएको छ, सबैलाई थाहा छ। उनी युवा नै छन् र सुधार गर्नुपर्ने ठाँउ धेरै छन्,’’ एट्लेटिकोका कप्तान कोकेले भने, ‘‘एट्लेटिकोमा अभ्यस्त हुन कठिन छ। प्रशिक्षक सिमोनी र टीम सहयात्रीका कुरा मनन गरे फेलिक्स सबैले हेर्न चाहेको जस्तो खेलाडी बन्नेछन्। चोटको कुरामा उनी भाग्यमानी रहेनन्। तर मलाई विश्वास छ, भविष्यमा उनी उत्कृष्ट खेलाडीको पंक्तिमा हुनेछन्।’’

एट्लेटिकोले २५ खेलबाट ४३ अंक जोडेको छ। सेभियाको पनि समान ४३ अंक छ।

तर, गोलअन्तरमा एट्लेटिको तेस्रो स्थानमा रहेको हो। सेभियाले गेटाफेलाई ३-० ले पराजित गरेको थियो।

एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनी निलम्बनका कारण स्ट्यान्डमा बसेर खेल हेरेका थिए।

भ्रमणकारी भिल्लारियालले १६औं मिनेटमा पाको एल्कासरको गोलबाट अग्रता लिएको थियो।

तर, भिल्लारियालले उक्त अग्रता जोगाउन सकेन। ४०औं मिनेटमा एट्लेटिकोका एन्जेल कोरेराले बराबरी गोल फर्काए।

६४औं मिनेटमा कोरेराकै पासमा कोकेले गरेको गोलमा एट्लेटिकोले अग्रता लियो।

त्यसको दश मिनेट वित्न नपाउँदै कोकेकै पासमा फोलिक्सले गोल गर्दै एट्लेटिकोको तीन अंक पक्का गरे।

एट्लेटिकोले ७ फागुनमा च्याम्पियन्स लिगमा साविक विजेता लिभरपुललाई १-० ले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्