औबमेयाङ फकाउँदै प्रशिक्षक, उनकै गोलमा आर्सनल विजयी

काठमाडौं। पिइरे-इमेरिक औबमेयाङको दुई गोलप्रेरित आर्सनलले गएराति इङ्लिस प्रिमियर लिगमा एभर्टनलाई ३-२ ले पराजित गरेको छ।

आर्सनल प्रशिक्षक मिकेल आर्टेटाले ‘सबैभन्दा महत्वपूर्ण खेलाडी’ औबमेयाङलाई क्लबमै राख्‍न फकाइरहेका छन्।

औबमेयाङले जारी सिजनमा १९ गोल गरेका छन्। उनले लन्डन क्लब आर्सनलका लागि ९५ खेलमा ६० गोल गरिसकेका छन्।

औबमेयाङ अर्को सिजन च्याम्पियन्स लिग खेल्न चाहन्छन्। जसका कारण उनी क्लब छाड्ने मनस्थितिमा रहेको समाचार बाहिर आइरहेको छ।

‘‘मैले क्लब सम्हाल्नुअघि उनलाई सोधेको थिए। तर उनले प्रतिबद्धता जनाएका छन्,’’ आर्सनलका प्रशिक्षक आर्टेटाले भने, ‘‘म उनीसँग धेरै खुशी छु। उनले महत्वपूर्ण गोल गरिरहेका छन्। र, एक कप्तानका रूपमा उनले जुन प्रदर्शन गरेका छन्, त्यो सबैका लागि उदाहरणीय छ।’’

आर्सनलसँग औबमेयाङको सम्झौता २०२१ सम्मका लागि छ। उनी बार्सिलोनासँस जोडिएका छन्।

बार्सिलोनाले जनवरीमा उनलाई भित्र्याउन पटक-पटक प्रयास गरेको थियो।

‘‘जो कोही पनि औबमेयाङलाई भित्र्याउन चाहन्छ। किनकी उनी असाधारण खेलाडी हुन्,’’ आर्टेटाले थपे, ‘‘आशा छ हामी उनलाई यही राख्न सफल हुनेछौं। उनले ठुलो अपेक्षा गरेका छन्। उनी ठुलो प्रतियोगितामा खेल्न चाहन्छन्। त्यसका लागि हामीले उनलाई सहयोग गर्नुपर्छ। उनी हाम्रो सबैभन्दा महत्वपूर्ण खेलाडी हुन्। उनी टीममा हुँदाको भिन्नतामा कुनै शंका छैन। उनलाई यही बस्नका लागि हामीले मनाउनुपर्छ।’’

गएराति एभर्टनले पहिलो मिनेटमै डोमिनिक कालभर्ट-लेविनको गोलमा एभर्टनले पहिलो मिनेटमै अग्रता लिएको थियो।

आर्सनलका एडवार्ड एनकेटियाले २७औं मिनेटमा बराबरी गोल फर्काए। ३३औं मिनेटमा औबमेयाङले गरेको गोलमा आर्सनलले अग्रता लियो।

पहिलो हाफको अन्तिम मिनेटमा रिचार्लिसनको गोलमा एटर्भनले बराबरी गर्‍यो।

दोस्रो हाफको शुरूमै औबमेयाङले गरेको गोल आर्सनलको जितमा निर्णायक बन्यो।

आर्सनल ३७ अंकका साथ नवौं स्थानमा छ। जुन चौथो स्थानका चेल्सीभन्दा सात अंकले पछाडि हो।

एभर्टन भने ३६ अंकका साथ ११औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्