दक्षिण अफ्रिकाद्वारा अस्ट्रेलिया पराजित
काठमाडौं। क्विन्टन डी ककको अर्धशतक तथा लुङ्गी एनगिडीको तीन विकेट प्रेरित दक्षिण अफ्रिकाले गएराति अस्ट्रेलियाविरुद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १२ रनको विजय हासिल गरेको छ।

पोर्ट एलिजावेथको सेन्ट जर्ज पार्कमा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५८ रन बनाएको थियो।

१५९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो।

जितसँगै दक्षिण अफ्रिकाले तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा १-१ को बराबरी गरेको छ।

पहिलो खेलमा अस्ट्रेलिया १०७ रनले विजयी भएको थियो।

घरेलु टोलीका कप्तान डी ककले ४७ बलमा पाँच चौका र चार छक्कासहित ७० रन बनाए।

रिजा हेनड्रिक्सले १४, फाफ डु प्लेसिसले १५ र रसी भान डेर डुसानले ३७ रन बनाए।

डेबिड मिल्नर ११ तथा पिट भान विलजोन ७ रनमा अविजित रहे।

अस्ट्रेलियाका केन रिचर्डसनले दुई विकेट लिँदा पेट कुमिन्स र एडम जम्पाको नाममा एक/एक विकेट रह्यो।

१५९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका ओपनर डेबिड वार्नरले ६७, स्टिभ स्मिथले २९ तथा एरोन फिन्च र एलेक्स क्यारीले समान १४ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

दक्षिण अफ्रिकाका एनगिडीले चार ओभरमा ४१ रन दिएर तीन विकेट लिए।

कागिसो राबडा, एनरिच नोर्टजे र ड्वानी प्रेटोरियसको नाममा एक एक विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस्