टोटेनह्यामको यात्रा कठिन

काठमाडौं। च्याम्पियन्स लिगमा अन्तिम १६ को पहिलो लेगमा टोटेनह्याम घरेलु मैदानमा आरबी लिपजिगसँग पराजित भएपछि प्रतियोगितामा अघि बढ्नका लागि कठिन यात्रा तय गर्नु पर्ने छ।

जोजे माउरिन्होको टोटेनह्याम सन ह्युङ-मिन र ह्यारी केनको चोटका कारण कठिन समयबाट गुज्रिरहेको छ।

जर्मन बुन्डेसलिगाको दोस्रो स्थानमा रहेको लिपजिगले उच्च प्रदर्शन गरेपछि टोटेनह्याम अपेक्षा गरिएभन्दा बढी दबाबमा परेको थियो।

तथापी गोलकिपर ह्युगो लोरिसले उत्कृष्ट प्रदर्शन गरेपछि इङ्लिस क्लब टोटेनह्यामले दोस्रो लेगको सम्भावनालाई कामयै राखेको छ।

टिमो वेर्नरले ५८औं मिनेटमा पेनाल्टीमा गोल गर्नुअघि लोरिसले उत्कृष्ट बचाउ गरेका थिए।

एन्जेलिनोले शुरूमै हानेका प्रहार लोरिसको खुट्टामा लाग्दै बारमा लागेर फर्किएको थियो भने लगत्तै वेर्नरनले ६ यार्ड बक्सभित्रबाट हानेको प्रहार लोरिसले रोकेका थिए।

३६औं मिनेटमा वेर्नरले पेनाल्टी बक्सभित्रबाट हानेको अर्को प्रहारलाई पनि लोरिसले विफल बनाइदिएका थिए।

तर टोटेनह्यामका बेन डेभिसले कोनार्ड लेइमरलाई फाउल गरेपछि लिपजिगले पेनाल्टी अवसर पाएको थियो। जसमा वेर्नरले कुनै गल्ति गरेनन्।

जारी सिजन क्लबका लागि वेर्नरको यो २६औं गोल हो। ६२औं मिनेटमा लोरिसले अर्को उत्कृष्ट बचाउ गरे। उनले प्याट्रिक स्चिकको प्रहारलाई रोकेका थिए।

लिपजिगका गोलकिपर पिटर गुलासीले पनि केही उत्कृष्ट बचाउ गरे।

जियोभानी लो सेल्सोको फ्रिकिक बचाएका गुलासीले लुकास मोउराको हेडिङ पनि रोकेका थिए।

"१-० को नतिजाबाट म चिन्तित छैन। हामी त्यहाँ गएर जित्न सक्छौं। मलाई हाम्रो खेलाडीहरू कति खेलपछि लयमा फर्किन्छन भन्ने चिन्ता छ। मोउरा, स्टेभन बेर्जविन र लो सेल्सो पुरै फ्लप भए," टोटेनह्यामका प्रशिक्षक माउरिन्होले भने, "हामी साच्चिकै खराब समयबाट गुज्रिएका छौं। यो एउटा खेलमा मात्र भए केही समस्या भएन। तर, हामीसँग एफए कप र प्रिमियर लिगका खेल पनि छन्।"

टोटेनह्यामले अब १० फागुनमा प्रिमियर लिगमा चेल्सीविरुद्ध खेल्नेछ।

११ मार्चमा लिपजिगविरुद्ध दोस्रो लेग खेल्नुअघि टोटेनह्यामले एफए कपमा नर्विच सिटी र प्रिमियर लिगमा उल्भरह्याम्पटनविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

गएराति नै इटालियन क्लब एटलान्टाले स्पेनिस लिगको भ्यालेन्सियालाई ४-१ ले हराएको छ।

एटलान्टाको जितमा हान्स हाटबोएरले दुई गोल गरे भने जोसेप इलिसिच र रेमो फ्रेउलरले एक एक गोल गरे।

डेनिस क्रिस्चेभले गरेको गोल भ्यालेन्सियाका लागि सान्त्वना बन्यो।

एटलान्टाले च्याम्पियन्स लिग खेलेको यो पहिलो सिजन हो।

एटलान्टाले समूह चरणमा पछिल्लो तीन खेलमा पराजित रहँदै नकआउटमा स्थान पक्का गरेको हो।

एटलान्टाको घरेलु मैदान बर्गमोमा युईएफएले निर्धारण गरेको न्युनतम आवश्यकता नभएका कारण ५५ किलोमिटर टाढा मिलानको सान सिएरोमा खेलेको थियो।

तर सान सिएरोमा पनि दर्शकको उपस्थितीका कारण एटलान्टालाई आफ्ने मैदानजस्तै भएको थियो।

४० हजारभन्दा धेरै समर्थक आफ्नो क्लबको समर्थनका लागि सान सिएरो पुगेका थिए।

एटलान्टाले अब १० मार्चमा दोस्रो लेगका लागि स्पेनको भ्रमण गर्नेछ।