बार्सिलोनाको संघर्षपूर्ण जित
काठमाडौं। रक्षक क्लेमेन्ट लेन्गलेटले निर्णायक गोल गरेपछि रातो कार्डको सामना गरेर मैदान छाडेको खेलमा बार्सिलोनाले रियाल बेटिसमाथि संघर्षपूर्ण जित हात पारेको छ।

साविक विजेता बार्सिलोनाले दुई पटक पछि परेको स्थिति उल्टाएको थियो।

सर्जियो कानालेसले पेनाल्टीमा गोल गर्दै छैटौं मिनेटमै रियाल बेटिसलाई अग्रता दिएका थिए।

त्यसको तीन मिनेट नवित्दै लियोनन मेसीको पासमा फ्रेन्की डी जोङले बराबरी गोल फर्काए।

नबिल फेकिरले २६औं मिनेटमा गरेको गोलमा घरेलु टीम रियाल बेटिसले पुनः अग्रता लियो।

पहिलो हाफको इन्जुरी समयमा मेसीको पासमा सर्जियो बुसकेट्सले बराबरी गोल फर्काए।

७६औं मिनेटमा फेकिरले दोस्रो पहेंलो कार्डको सामना गरेपछि रियाल बेटिस दश खेलाडीमा सिमित भयो।

लगत्तै लेन्गलेटले पनि दोस्रो पहेंलो कार्डको सामना गरेर बार्सिलोना पनि दश खेलाडीमा सिमित बन्यो।

जितसँगै बार्सिलोनाले शीर्ष क्लब रियाल मड्रिडसँगको दुरी तीन अंकमा झारेको छ।

रियाल मड्रिडको सहज जित

चाँडो गरी भएको खेलमा रियालले ओसासुनामाथि ४–१ को सहज जित हात परेको थियो।

घरेलु टोली ओसासुनाले युनाई गार्सियाको गोलबाट १४औं मिनेटमा अग्रता लिएको थियो। ३३औं मिनेटमा इस्कोले बराबरी गोल फर्काए।

३८औं मिनेटमा कप्तान सर्जियो रामोसको गोलमा रियालले अग्रता लियो।

८४औं मिनेटमा लकास भाजक्वेजले अर्को गोल थपे भने इन्जुरी समयमा लुका जोभिचले चौथो गोल गर्दै रियालको तीन अंक पक्का गरे।

जितसँगै रियालको २३ खेलबाट ५२ अंक भएको छ। दोस्रो स्थानको बार्सिलोनाले ४९ अंक जोडेको छ। तेस्रो स्थानमा गेटाफे छ। गेटाफेको ४२ अंक छ।

सेभिया भने सेल्टा भिगोसँग २-१ ले पराजित भयो।

प्रतिक्रिया दिनुहोस्