इन्टर पुनः शीर्षमा

काठमाडौं। इन्टरले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै दुई शून्यले पछि परेको स्थिति उल्टाउँदै शहरी प्रतिद्वन्द्वी एसी मिलानलाई पराजित गरेको छ।

४-२ को जितसँगै इन्टर इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ।

मिलानविरुद्ध खेल्नुअघि इन्टर तेस्रो स्थानमा थियो। जितसँगै लाजियो र साविक विजेता युभेन्टसलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो।

४०औं मिनेटमा ज्लाटन इब्राहिमोभिचले हेडमार्फत दिएको पासलाई एन्ट रेबिकले पोष्टको दिशा दिएका थिए।

इब्रहिमोभिचले पहिलो हाफ सकिनुअघि हेडमार्फत गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए।

५१औं मिनेटमा मार्सेलो ब्रोजोभिचले भलीमा गरेको गोलबाट इन्टरले पुनरागमन गर्‍यो।

त्यसको तीन मिनेट नवित्दै एलेक्सिस सान्चेजले दिएको पासमा माटिस भोसिनोले बराबरी गोल फर्काए।

७०औं मिनेटमा स्टेफन डी भ्रीले एन्टोनियो कान्ड्रेभाको पासमा गोल गरे भने इन्जुरी समयमा रोमेलो लुकाकुले भिक्टर मोसेसको पासमा गोल गर्दै इन्टरको तीन अंक पक्का गरे।

प्रशिक्षक स्टेफानो पिओलीको नेतृत्वमा मिलानले यसअघिका दश लिग खेलमध्ये एकमा मात्र पराजय भोगेको थियो।

गएराति भने दोस्रो हाफमा सम्हालिन नसक्दा मिलान दशौं स्थानमा कायमै रहेको छ।

इन्टरले भने पछिल्लो १६ लिग खेलमा हारेको छैन।

इन्टरले २९ माघमा नापोलीलाई आतिथ्य प्रदान गर्नेछ भने ३ फागुनमा उपाधि होडमा रहेको लाजियोविरुद्ध खेल्नेछ।

"उपाधिबारे अहिले कुरा गर्नु धेरै हतारो हुन्छ। हामीले बल्ल त्यसको सपना देख्न थालेका छौं," इन्टरका प्रशिक्षक एन्टोनियो कोन्टेले स्काई इटालियासँग भने, "हामी सपना देख्न सक्छौं। अबको साता हाम्रो लागि निकै महत्वपूर्ण हुनेछ। त्यसपछि हाम्रो वास्तविक सम्भावना प्रष्ट हुन्छ।"

गएराति चाँडो गरी सम्पन्न खेलमा सिमोनी इन्जाघीको जालियोले पार्मामाथि १-० को संघर्षपूर्ण जित निकालेको थियो।

जितसँगै लाजियो अपराजित यात्रा १८ खेलसम्म पुगेको छ।

जितसँगै लाजियो केही घण्टाको दोस्रो स्थानमा उक्लिएको थियो।

तर, इन्टरको जितसँगै लाजियो तेस्रो स्थानमा रह्यो। लाजियोको जितमा फेलिप काइसेडोले ४१औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।

गएराति नै नापोलीले लेक्सेलाई ३-२ को नतिजा सुम्पिएको छ।

जेनोआले कागलियारीलाई १-० ले पराजित गर्‍यो। अघिल्लो दिन साविक विजेता युभेन्टस हेलास भेरोनासँग २-१ ले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्