मछिन्द्र लिगको शीर्षस्थानमा उक्लियो

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि होडमा रहेको मछिन्द्र क्लबले बिहीबार रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको सरस्वती युथ क्लबमाथि ६–१ को सहज विजय हासिल गरेको छ।

जितसँगै मछिन्द्र कम्तिमा पनि तीन घण्टाका लागि लिगको शीर्ष स्थानमा उक्लिएको छ। लिगमा दुई खेल बाँकी रहँदा मछिन्द्रको २५ अंक छ। जुन दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबभन्दा दुई अंकले माथि हो। यद्यपी त्रिभुवन आर्मीको एक खेल कम खेलेको छ। त्रिभुवन आर्मीले आजै सशत्र प्रहरी बलको एपीएफ क्लबविरुद्ध खेल्नेछ। त्रिभुवन आर्मीले एपीएफलाई हराएमा पुनः शीर्ष स्थानमा उक्लनेछ।

मछिन्द्रको खासमा २६ अंक हो। तर गत सिजन पुछारबाट दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेका कारण मछिन्द्रको एक अंक घटाइएको हो। अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत सिजन रेलिगेशनको प्रावधान हटाएर पुछारमा रहने दुई टीमको नयाँ सिजन क्रमशः दुई र एक अंक घटाउने निर्णय गरेको थियो।

एन्फाले गत सिजन दुई टीमको अंक घटाउने निर्णय गरे पनि जारी सिजन भने एक टीम मात्र रेलिगेशन हुने प्रावधान राखेको छ। जहाँ अहिले सरस्वती युथ क्लब रहेको छ। सरस्वती युथको चार अंक मात्र छ। जुन एपीएफको भन्दा एक अंकले कम हो।

सरस्वती युथले अब च्यासल युथ र संकटा क्लबसँग खेल्न बाँकी छ। एपीएफले आज त्रिभुवन आर्मीसँग खेलेपछि फ्रेण्ड्स र बिग्रेड ब्वाइजसँग खेल्न बाँकी छ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा मछिन्द्रले देबेन्द्र तामाङको गोलबाट ४०औं मिनेटमा अग्रता लिएको थियो। उनले रञ्जित धिमालको कर्नरलाई हेडमार्फत पोष्टको दिशा दिएका थिए। खेलको दोस्रो हाफमा बाँकी ६ गोल भएको थियो।

५४औं मिनेटमा दीपक राईले अग्रता दोब्बर बनाए। विजय धिमालले दिएको लामो पास नियन्त्रणमा लिदै सरस्वतीका एक रक्षक पुर्णबहादुर श्रेष्ठ र गोलकिपर प्रदीप भट्टराईलाई कटाएर वायाँ खुट्टाले हानेको बल गोल भएको थियो।

त्यसको पाँच मिनेट नवित्दै विशाल महर्जनले अर्को गोल थपे। सरस्वतीका गोलकिपर प्रदीप अगाडी बढेका थिए। उनी रञ्जितसँग बल खोस्न १८ यार्ड बक्स बाहिर पुगेका थिए। रञ्जितले प्रदीपलाई कटाएर दिएको पासलाई विशालले खाली पोष्टको दिशा दिए।

दीपक राईले ७७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ४–० को अग्रता दिए। योगेश राईले दिएको सुन्दर पासमा दीपकले वायाँ खुट्टाले हानेको प्रहार सरस्वतीका गोलकिपर प्रदीपले रोक्न सकेनन्।

इन्जुरी समयमा अफ्रिकी मुलका खेलाडी सोमिडे एडजेला र आन्द्रेस टिचोउकुएले एक एक गोल गर्दै मछिन्द्रलाई सहज जित दिए। खेल सकिन तीन मिनेट बाँकी छँदा काजीम बुसारीले पेनाल्टीमा गरेको गोल सरस्वती युथका लागि सान्त्वना बन्यो। मछिन्द्रका रक्षक पिटर सेगुनले बल क्लियर गर्ने क्रममा हातले रोकेपछि सरस्वतीले पेनाल्टीको अवसर पाएको थियो।

प्रतिक्रिया दिनुहोस्