आइसीसी क्रिकेट विश्वकप लिग–२: अमेरिकाद्वारा ओमानसामु २१४ रनको लक्ष्य

काठमाडौं। इयान होल्यान्डको अर्धशतकप्रेरित अमेरिकाले आज आइसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृंखलामा ओमानलाई २१४ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको अमेरिकाले ५० ओभरमा सबै विकेट गुमाएर २१३ रन बनाएको हो।

अमेरिकाले शुरूका चार विकेट चाँडै गुमाए पनि होल्यान्ड र अक्षय होमराजले पाँचौं विकेटका लागि ८२ रनको साझेदारी गर्दै अमेरिकाको इनिङ उकासे।

होल्यान्डले ७८ बलमा सात चौकासहित ६५ रन बनाए। अक्षयले ५३ बलमा तीन चौका र दुई छक्कासहित ४४ रन बनाए। मोनाक पटेलले १९, तिमिल पटेलले १६, जेभियर मार्सलले १३, कप्तान सौरभ नेत्रभाल्करले अविजित १४ र एरोना जोन्सले १२ रन जोडे।

ओमानका मोहम्मद नादीमले तीन विकेट लिए भने अकिब इलियास, जीशन मकसूद र बलिल खानले समान दुई विकेट लिए। कालिमुल्लाहको नाममा एक विकेट रह्यो।

नेपालमा जारी त्रिदेशीय शृंखलाको पहिलो खेलमा ओमानले नेपाललाई १८ रनले पराजित गरेको थियो। जारी शृंखलामा अमेरिकाको यो पहिलो खेल हो।

प्रतिक्रिया दिनुहोस्