सान्चो र हालान्डले रचे इतिहास
काठमाडौं। युवा स्टार जाडोन सान्चो र इर्लिङ ब्राउट हालान्ड इतिहास रचेको दिन बोरूसिया डर्टमण्डले गएराति युनियन बार्लिनलाई ५-० ले हराएको छ।
इङ्ल्यान्डका सान्चो जर्मन बुन्डेसलिगामा २५ गोल गर्ने पहिलो युवा खेलाडी बने।
त्यस्तै नर्वेका हालान्ड बुन्डेसलिगाको पहिलो तीन खेलमा सात गोल गर्ने पहिलो खेलाडी बनेका छन्।
हालान्डले १८औं मिनेटमा गोल गर्दै डर्टमण्डको अग्रता दोब्बर बनाएका थिए। उनले ७६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए।
डर्टमण्डबाट तीन खेलमा उनको यो सातौं गोल हो। १९ वर्षे हालान्ड जनवरी सरूवा बजारमा साल्जबर्गबाट जर्मनी आएका हुन्।
उनले पहिलो दुई खेलमा ह्याट्रिकसहित पाँच गोल गरेका थिए। पहिलो दुई खेलमा उनी बैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका थिए।
लिगमा १३६ मिनेट मात्र खेलेका हालान्ड लिगमा धेरै गोल गर्ने शीर्ष दश खेलाडीभित्र परिसकेका छन्।
"आज अलि कठिन भयो। तर पहिलो रोजाईमा खेल्न पाउँदा खुशी लाग्यो," हालान्डले भने, "म फिट हुदैँछु तर अझै सतप्रतिशत फिट भइसकेको छैन।"
सान्चोको गोलमा डर्टमण्डले १३औं मिनेटमा अग्रता लिएको थियो।
१८औं मिनेटमा हालान्डले अग्रता दोब्बर बनाए। ६८औं मिनेटमा मार्को रिउसले पेनाल्टीमा अर्को गोल थपे।
हालान्डलाई विपक्षी गोलकिपरले फाउल गरेपछि डर्टमण्डले पेनाल्टी पाएको थियो।
सान्चोको पासमा एक्सेल विटसेलले चौथो गोल गरे। ७६औं मिनेटमा हालान्डले पाँचौं गोल थपे।
जितपछि डर्टमण्ड ३९ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानको बायर्न म्युनिखभन्दा तीन अंकले पछि हो।
युनियन बर्लिन भने २३ अंकका साथ १२औं स्थानमा छ।
बायर्नले गएराति नै मेइन्ज०५ लाई ३-१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो।
बायर्नको जितमा रोबर्ट लेवन्डस्की, थोमस मुलर र थियागो एलकान्ट्राले गोल गरे। मेइन्जका जेरी सेन्ट जस्टीले गोल गरेका थिए।
आरबी लिपजिगले बोरुसिया मोन्चेनग्लाडबाचसँग २-२ को बराबरी खेल्दै अंक बाडेका थिए।
गएराति बुन्डेसलिगाको अन्य खेलमा औसबर्गले बेर्डर ब्रेमेनलाई २-१ ले हरायो।
प्रतिक्रिया दिनुहोस्