रियाललाई ६ अंकको अग्रता

काठमाडौं। करिम बेन्जेमाले दोस्रो हाफमा गरेको गोलमा रियाल मड्रिडले गएराति शहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई पराजित गर्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा ६ अंकको स्पष्ट अग्रता लिएको छ।

फ्रान्सका स्ट्राइकर बेन्जेमाले ६ यार्ड बक्सबाट फेरल्यान्ड मेल्डीको क्रसलाई पोष्टको दिशा दिएका थिए।

बेन्जेमाले ५६औं मिनेटमा गरेको त्यही गोल रियालको जितमा निर्णायक बन्यो।

जितसँगै रियालको २२ खेलबाट ४९ अंक भएको छ। जुन दोस्रो स्थानको बार्सिलोनाभन्दा ६ अंकले बढी हो।

बार्सिलोनाले एक खेल कम खेलेको छ। बार्सिलोनाले आज घरेलु मैदानमा लेभान्टेविरुद्ध खेल्नेछ।

मड्रिड डर्बीमा पराजित एट्लेटिको भने पाँचौं स्थानमा छ। एट्लेटिकोले ३६ अंक जोडेको छ।

जिनेदिन जिदानको रियाल २१ खेलमा अपराजित छ भने आठ खेल लगातार जितेको छ।

त्यसमा स्पेनिस सुपर कपमा एट्लेटिकोलाई पेनाल्टीमा हराएको पनि समावेश छ।

पछिल्लो पाँच खेलमा जित हात नपारेको एट्लेटिकोका एन्जेल कोरेयाले हानेको बल पोष्टमा लागेर फर्किएको थियो।

त्यस्तै रियालका बैकल्पिक खेलाडी भिनिसियस जुनियरको दुई प्रयासलाई जोन ओब्लाकले बचाइदिएका थिए।

रियालका प्रशिक्षक जिदानले पूर्ण फिट भए पनि गारेथ बेललाई टोलीमा समावेश गरेनन्।

जनवरी सरूवा बजारमा बेलले रियाल छाड्ने चर्चा पनि अन्तत: उनी स्पेनमै बसे।

प्रतिक्रिया दिनुहोस्