बार्सिलाेना भ्यालेन्सियासँग पराजित

काठमाडौं। क्वेक सेटीनले बार्सिलोनाको प्रशिक्षण सम्हालेपछि पहिलो हार बेहोरेका छन्।

सेटीनको बार्सिलोना भ्यालेन्सियासँग २–० ले स्तब्ध भएको हो।

भ्यालेन्सियाले बार्सिलोनालाई २००७ पछि पहिलो पटक घरेलु मैदानमा पराजित गरेको छ।

घरेलु टोलीले ७७औं मिनेटमा अग्रता लिएको थियो।

म्याक्सिमिलियानो गोमेजले हानेको सशक्त प्रहार बार्सिलोनाका रक्षक जोर्डी अल्बालाई लागेर गोलमा परिणत भएको थियो।

गोमजले शुरूमै पाएको पेनाल्टी अवसर खेर फालेका थिए।

उनले हानेको प्रहार बार्सिलोनाका गोलकिपर मार्क–आन्द्रे टेर स्टेगनले बचाइदिएका थिए।

खेल सकिन १३ मिनेट बाँकी छँदा गोमेजले अर्को गोल थप्दै घरेलु समर्थकलाई खुसी बनाएका थिए।

सेटीनले बार्सिलोनाको प्रशिक्षकमा सुखद शुरूआत गरेका थिए।

स्पेनिस ला लिगामा ग्रानाडालाई पराजित गरेको बार्सिलोनाले कोपा डेल रेमा युडी इबिजालाई पराजित गरेको थियो।

बल पोसेसन राम्रो राखे पनि बार्सिलोनाको अग्रपंक्तिले भ्यालेन्सियाको रक्षापंक्ति तोड्न सकेन।

अन्तिम समयमा भ्यालेन्सियाका रक्षक गाब्रियल पउलिष्टाले गरेको गोललाई मान्यता नदिएपछि घरेलु टोलीले अग्रता बढाउने मौका गुमायो।

अब दोस्रो स्थानको रियाल मड्रिडले आइतबार रियाल भालाडोलिडलाई पराजित गरे शीर्ष स्थानमा उक्लदै तीन अंकको स्पष्ट अग्रता लिनेछ।

जितसँगै भ्यालेन्सिया ३४ अंकका साथ पाँचौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्