ए डिभिजन लिग: थ्री स्टार तेस्रो स्थानमा

काठमाडौं। थ्री स्टारले आज हिमालयन शेर्पा क्लबमाथि ३–१ को जित निकाल्दै शहीद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ।

थ्रीस्टारले छैटौं मिनेटमा अग्रता लिएको थियो। लाल राम माभ्राको पासमा सुशील राईले हिमालयन शेर्पाका दुई रक्षकलाई कटाएर हानेको प्रहार गोलकिपर किशोर गिरीले रोक्न सकेनन्।

पहिलो हाफको इन्जुरी समयमा स्टेफन समिर डेउबेनी फ्रिकिकमा उत्कृष्ट गोलमा हिमालयन शेर्पाले बराबरी गोल गरेको थियो। त्यसको एक मिनेट नवित्दै संजोग राईको गोलमा थ्री स्टारले पूनः अग्रता लियो।

दोस्रो हाफको शुरूमै थ्री स्टारका बासिउ ओलानडिरान हाजमतले अर्को गोल थपे। हाजमतले निशान्त खड्काको उत्कृष्ट पासलाई नियन्त्रणा लिदै ‘वान भर्सेस वान’ मा गोल गरेका थिए।

दशरथ रंगशाला हात पारेको जितसँगै थ्री स्टार तेस्रो स्थानमा उक्लिएको छ। थ्री स्टारको आठ खेलमा १४ अंक भएको छ। जुन शीर्ष स्थानको त्रिभुवन आर्मीको भन्दा दुई अंकले कम हो। तथापी त्रिभुवन आर्मीले एक खेल कम खेलेको छ। दोस्रो स्थानको मछिन्द्र क्लबको पनि १६ अंक छ।

हिमालयन शेर्पा भने सात अंकका साथ ११औं स्थानमा छ। हिमालयन शेर्पाभन्दा तल च्यासल (६), सशत्र प्रहरी बलको एपीएफ क्बल(५) र सरस्वती युथ क्लब (१) छ। हिमालयन भन्दा तलका सबैले सात खेलमात्र खेलेका छन्।

दशरथ रंगशालामा आजै एपीएफले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ। सात खेलबाट नौं अंक जोडेको जावलाखेल आठौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्