लेस्टरको सहज जित

काठमाडौं। लेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा गएराति किंग पावर रंगशालामा वेष्टह्याममाथि ४-१ को सहज विजय हासिल गरे पनि जेमी भार्डेको चोटले चिन्तित भएको छ।

हार्बे बार्नेसको गोलमा लेस्टरले २४औं मिनेटमा अग्रता लिएको थियो।

पहिलो हाफको अन्त्यमा रिकार्डो परेराले टिमको अग्रता दोब्बर बनाए।

वेष्ट ह्यामका कप्तान मार्क नोब्लेले पेनाल्टीमा गोल गर्दै पुनरागमनको संकेत गरेका थिए।

तर,आयोज पेरेसले अन्तिम दश मिनेटमा दुई गोल गरेपछि लेस्टरले सहज विजय हासिल गरेको हो।

पेरेसले ८१औं मिनेटमा पेनाल्टीमा गोल गरे भने ८८औं मिनेटमा अर्को गोल थपे।

घुँडाको शल्यक्रियापछि फर्किएका मिडफिल्डर विलफ्रेड एनडिडी ३४औं मिनेटमा मैदान छिरेपछि लेस्टरको खेल परिवर्तन भएको थियो।

तर, ४३औं मिनेटमा भार्डे घाइते भएर बेन्चमा फर्किएका थिए।

भार्डेले जारी सिजन १७ गोल गरिसकेका छन् भने चार गोलमा अवसर सिर्जना गरिदिएका छन्।

तथापी भार्डेको चोट सामान्य रहेको प्रशिक्षक ब्रेन्डन रोजर्सले बताए। उनले भने, "ह्यामस्ट्रिङ होइन रहेछ। जुन सुखद हो। आशा गरौं अब केही दिनमा उनी ठिक हुनेछन्।"

जितसँगै ४८ अंक जोडेको लेस्टर तेस्रो स्थानमा यथावत छ भने वेष्ट ह्याम १७औं स्थानमा छ। वेष्ट ह्यामको २३ अंक छ।

जुन रेलिगेशन क्षेत्रको बर्नमाउथ र वाटफोर्डसँग बराबर हो।

प्रतिक्रिया दिनुहोस्