‘बक्सिङ डे’ पछि टोटेनह्यामको पहिलो जित

काठमाडौं। डिले अली र ह्युङ-मिन सनको गोलमा टोटेनह्यामले गएराति इङ्लिस प्रिमियर लिगमा पुछारको क्लब नर्विच सिटीलाई २-१ ले पराजित गरेको छ। २०२० मा टोटेनह्यामको यो पहिलो जित हो।

स्ट्राइकर ह्यारी केन घाइते भएपछि टोटेनह्याम गोलका लागि संघर्ष गरिरहेको थियो।

पछिल्लो तीन खेलसम्म गोल गर्न नसकेको टोटेनह्यामले अलीको गोलबाट ३८औं मिनेटमा अग्रता लिएको थियो।

७०औं मिनेटमा टीमु पुक्कीले पेनाल्टीमा गोल गर्दै बराबरी गरेका थिए। तीन महिनापछि मैदान फर्किएका ह्युगो लोरिसले पुक्कीको प्रहार ठम्याउन सकेनन्।

तर, खेल सकिन ११ मिनेट बाँकी रहँदा सनले अर्को गोल थप्दै टोटेनह्यामलाई तीन अंक दिलाए।

बक्सिङ डेपछि टोटेनह्यामले जितेको यो पहिलो खेल हो।

"हामी धेरै सोच्नुपर्ने अवस्थामा पुगेका थियौं," टोटेनह्यामका प्रशिक्षक माउरिन्होले भने, "म बेन्च हेर्थे तर आक्रमक खेलाडी देख्दिनथे। मैले इरिक लामेलालाई अगाडि खेलाए। दोस्रो गोल गरेपछि टीमको माहोल अर्को भएको थियो।"

टीममा राम्रो स्ट्राइकर नभएको बारे माउरिन्होले थपे, "चेल्सीले मिचे बात्सुयीलाई ल्याउँछ। म्यानचेस्टर सिटीले गाब्रियल जिससलाई परिवर्तन गर्न मन लाग्यो भने सर्जियो अग्विरो छिराउँछ। हामी धेरै अभागी छौ की लोरिस फर्किए तर ह्यारी विंग्सलाई गुमाउनु पर्‍यो।"

जितसँगै टोटेनह्याम छैटौं स्थानमा उक्लिएको छ। जुन चौथो स्थानको चेल्सीभन्दा छ अंकले पछाडि हो।

नर्विच सिटी भने १७ अंकका साथ पुछारमा छ।

प्रतिक्रिया दिनुहोस्