मेसीको गोलमा सेटीनको सुखद शुरूआत

काठमाडौं। लियोनल मेसीले दोस्रो हाफमा गरेको गोलमा बार्सिलोनाले गएराती स्पेनिस ला लिगामा ग्रानाडालाई १-० ले पराजित गरेको छ।

दश खेलाडीमा सिमित भएको ग्रानाडामाथिको जितसँगै नयाँ प्रशिक्षक क्वेक सेटीनले बार्सिलोनामा विजयी शुरूआत गरेका छन्।

बार्सिलोनाले क्याम्प नोउमा ८० प्रतिशत बल पोसेसन राखेको थियो।

तर, सेटीनको टोलीलाई विपक्षी रक्षपंक्ति तोड्न भने हम्म हम्मे पर्‍यो।

६९औं मिनेटमा मेसीलाई फाउल गरेपछि जर्मन सान्चेजले दोस्रो पहेंलो कार्डको सामना गर्दै मैदान छाडे।

त्यसको सात मिनेट नबित्दै बार्सिलोनाले अग्रता बनायो।

अर्टुरो भिडालको पासमा मेसीले गोल गर्दै बार्सिलोनाको तीन अंक पक्का गरे।

मेसीले एन्टोइन ग्रिज्मानलाई पास दिए, ग्रिज्मानले भिडाललाई पास दिए, भिडालले दिएको पासमा मेसीले गोल गरे।

यससँगै अर्नेस्टो भाल्भर्डेलाई बर्खास्त गरेपछि बार्सिलोनाको प्रशिक्षकमा नियुक्त भएका सेटीनले ६ दिनपछि घरेलु दर्शकसँग खुशी साटे।

६१ वर्षे सेटीनले बार्सिलोनासँग साढे दुई वर्षका लागि सम्झौता गरेका छन्।

जितसँगै बार्सिलोना पून: शीर्ष स्थानमा उक्लिएको छ।

रियाल मड्रिडसँग समान ४३ अंक भए पनि बार्सिलोना गोलअन्तरमा अगाडि भएको हो।

त्यसअघि मेसी र ग्रिज्मानसँगै अग्रपंक्तिमा स्थान बनाएका अंशु फातीले शुरूमै पाएको अवसर सदुपयोग गर्न सकेनन्।

दोस्रोमा मेसीले हानेको प्रहार थोरैले बाहिरिएको थियो। ग्रानाडाको अधिकांस समय आफ्नो पोष्ट रक्षा गर्नमै बित्यो।

यान इटेकीको एउटा प्रयासले पनि पोष्टको दिशा लिन सकेन।

बार्सिलोनाले अब ८ माघमा कोपा डेल रेको क्वार्टरफाइनलमा युडी आइबिजाविरुद्ध खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्