लिभरपुललाई १६ अंकको अग्रता, उपाधि नजिक
काठमाडौं। म्यानचेस्टर युनाइटेडविरुद्ध एन्फिल्डमा २-० को संघर्षपूर्ण नतिजा निकाल्दै लिभरपुलले ३० वर्षपछि इङ्लिस प्रिमियर लिगको उपाधि जित्ने सम्भावनालाई थप मजबुत बनाएको छ।
जितसँगै लिभरपुलले शीर्ष स्थानमा १६ अंकको स्पष्ट अग्रता लिएको छ। लिभरपुलले अझै एक खेल कम खेलेको छ। लिभरपुलले खेलेको २२ मध्ये २१ खेल जितेको छ। जारी सिजन अपराजित रहने लिभरपुल एक्लो टीम हो।
इन्जुरी समयमा गोलकिपर एलिसन बेकरको लामो पासलाई नियन्त्रणमा लिदै मोहम्मद सालाहले गोल गर्दै लिभरपुलको तीन अंक पक्का गरेका थिए।
गोलपछि सालाहले समर्थकसँग जर्सी फुकालेर खुशी साटेका थिए।
त्यसअघि रोबर्टो फिर्मिनोले गरेको गोललाई भिडियो सहायक रेफ्री(भिएआर)ले मान्यता दिएन। सालाहले पाएको राम्रो मौका गुमाएका थिए।
युनाइटेडका फरवार्ड मार्कुस राशफोर्ड खेलअघि नै ढाँडको चोटका कारण खेल्न नसक्ने भएका थिए।
युनाइटेडका आन्द्रेस परेराले पहिलो हाफमा बराबरी गर्ने राम्रो मौका गुमाए। त्यस्तै एन्थोनी मार्सियालको प्रहारले पनि पोष्टको दिशा लिन सकेन।
यससँगै ३४ अंकका साथ पाँचौ स्थानमा रहेको युनाइटेडलाई लिभरपुलले ३० अंकले पछाडी पारेको छ।
युनाइटेड प्रिमियर लिगको पछिल्लो १६ अवे खेलमध्ये नौंमा पराजित भएको छ भने आठ खेलमा गोल गर्न सकेको छैन।
"खेलाडीले आज राम्रो प्रदर्शन गरे। दोस्रो हाफको शुरूमा राम्रो गर्न नसके पनि अन्तिम २५-३० मिनेट हामीले धेरै दबाब सिर्जना गरेका थियौं। कर्नर र अन्तिममा गोल खानु निराशजनक रह्यो," युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले भने, "एन्फिल्डमा हामीले राम्रो टिमविरुद्ध दास्रो हाफमा धेरै राम्रो खेलेका थियौं। तर गोल गर्ने क्षमतामा कमजोरी देखियो।"
प्रतिक्रिया दिनुहोस्