डेब्यूमा हालान्डको ह्याट्रिक

काठमाडौं। इर्लिङ ब्राउट हालान्डले डेब्यू खेलमा ह्याट्रिक गरेपछि बोरुसिया डर्टमण्डले गएराती जर्मन बुन्डेसलिगामा औसबर्गलाई ५-३ ले पराजित गरेको छ।

१९ वर्षे हालान्ड गत महीनामात्र रेडबुल साल्जबर्गबाट एक करोड ७१ लाख पाउण्डमा डर्टमण्डसँग अनुबन्ध भएका थिए।

उनले साल्जबर्गमा पनि जारी सिजन २२ खेलमा २८ गोल गरिसकेका थिए। उनले नयाँ क्लब र लिगमा पनि आफ्नो प्रभाव छाड्न सफल भएका छन्।

हालान्डले मैदान छिरेको २३ मिनेटमै ह्याट्रिक गरेका थिए। हालान्ड ५६औं मिनेटमा मैदान छिर्दा डर्टमण्ड ३-१ ले पछाडी थियो।

तर, उनले मैदान छिरेको तीन मिनेटमै गोल गरे। ७०औं मिनेटमा दोस्रो गोल गरेका हालान्डले ७९औं मिनेटमा ह्याट्रिक पुरा गरेका थिए।

त्यसअघि डर्टमण्डका लागि जाडोन सान्चो र युलियन ब्रान्डटले गोल गरेका थिए।

साल्जबर्गका लागि फ्लोरियन नाइडरलेचनरले दुई तथा मार्को रिचटरले एक गोल गरेका थिए।

"थाहा छैन किन, मलाई एकदम आनन्द लागेको छ", हालान्डले भने, "म राम्रो क्लबमा राम्रो सहयात्रीहरुको माझमा छु। म यहाँ गोल गर्न आएको हुँ र आज मेरो डेब्यू सुखद बन्यो।"

च्याम्पियन्स लिगको समूह चरणमा आठ गोल गरेपछि हालान्डलाई इटालियन महारथी युभेन्टस र इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले अनुबन्ध गर्ने चाहना देखाएको थियो।

जितसँगै १८ खेलबाट ३३ अंक जोडेको डर्टमण्ड चौथो स्थानमा छ।

जुन शीर्ष स्थानको आरबी लिपजिगभन्दा सात तथा दोस्रो स्थानको मोन्चेनग्लाडवाचभन्दा दुई अंकले पछाडी हो।

मोन्चेनग्लाडवाच गएराति साल्केसँग २-० ले पराजित भएको थियो।

आरबी लिपजिगले युनियन बर्लिनलाई ३-१ ले हराएको थियो।

लिपजिगको जितमा टिमो वेर्नरले दुई गोल गरे भने मार्सेल साबिट्जरले एक गोल गरे।

फ्रेइबर्गले मेन्ज ०५ लाई तथा फ्रांकफर्टले होफिनहेइमलाई समान २-१ को अन्तरमा पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्