म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा

काठमाडौं। हुवाँ माटाले दोस्रो हाफमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले गएराति उल्भरह्याम्पटनलाई १–० ले पराजित गर्दै एफए कपको चौथो चरणमा स्थान बनाएको छ।

६७औं मिनेटमा एन्थोनी मार्सियालको पासलाई नियन्त्रणमा लिँदै विपक्षी गोलकिपर जोन रूडी अघि बढेको अवस्थामा माटाले चिप गर्दै गोल गरेका थिए। ३१ वर्षे माटाको त्यही गोल युनाइटेडलाई एफए कपको चौथो चारणसम्म डोर्‍याउन पर्याप्त बन्यो।

त्यसअघि उल्भरह्याम्पटनका पेड्रो नेटोले गोल गरेका थिए। तर भिडियो सहायक रेफ्रीले नेटोले गोल गर्नुअघि नै ह्याण्ड भएको घोषित गरिदिएपछि उल्भरह्याम्पटनका समर्थक निराश बनेका थिए।

युनाइटेडले यसअघि ४ जनवरीमा उल्भरह्याम्पटनसँग गोलरहित बराबरी खेलेको थियो। उक्त खेलमा युनाइटेडले गोलका लागि एउटा पनि राम्रो अवसर सिर्जना गर्न सकेको थिएन।

युनाइटेडले अब चौथो चरणमा वाटफोर्ड र ट्रानमेरेबीचको विजेतासँगै प्रतिस्पर्धा गर्नेछ। प्रेन्टन पार्कमा १४ जनवरीमा हुने भनिएको वाटफोर्ड र ट्रानमेरेबीको खेल भारी वर्षाका कारण स्थगित भएको थियो।

उता जोजे माउरिन्होको क्लब टोटेनह्यामले गएराति एफए कपको तेस्रो चरणमा च्याम्पियसिपको क्लब मिडल्सब्रोविरुद्ध २–१ को संघर्षपुर्ण जित निकालेको छ।

टोटेनह्यामले पहिलो गोल उपहार पाएजस्तै भयो। मिडल्सब्रोका गोलकिपर टोमास मेजिएसले रक्षक मार्भिन जोनसोनलाई दिएको पास टोटेनह्यामका जियोभानी लो सेल्सोले बीचमै नियन्त्रणमा लिई गोलमा परिणत गरेका थिए। त्यसको १३ मिनेट नबित्दै इरिक लामेलाले टोटेनह्यामको अग्रता दोब्बर बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्