बाग्मती प्रदेशलाई पराजित गर्दै आर्मी मनमोहन कपको फाइनलमा

काठमाडौं। बाग्मती प्रदेशलाई ६४ रनले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

आज भएको सेमीफाइनलमा आर्मीले दिएको २ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा बाग्मती प्रदेशले ३८.१ ओभरमा सबै विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो ।

लक्ष्य पछ्याउने क्रममा बाग्मती प्रदेशका लागि सोनु तामाङले सर्वाधिक ७४ रन बनाए। उनले ७५ बलमा ६ छक्का र ४ चौका प्रहार गरे। इशान पाण्डेले १७ तथा सुबास खकुरेलले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बाग्मती प्रदेशको बलिङमा देब्रे हाते स्पिनर सुशन भारिले सर्वाधिक ३ विकेट लिए। भारिले ८.१ ओभरमा ३ मेडन राख्दै २३ रन खर्चिए। अर्का देब्रे हाते स्पिनर शाहब आलमले २ विकेट तथा बिक्रम सोब, हरि बहादुर चौहान , हरि कृष्ण झा र कुशल मल्लले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिंग रोजेको आर्मीले निर्धारित ४७ ओभरमा सबै विकेट गुमाएर २१६ रन बनाएको थियो।

ढिला सुरु भएका कारण खेल ४७ ओभरमा झारिएको थियो।

आर्मीका लागि ओपनर ब्याट्सम्यान अनिल मण्डलले सर्वाधिक ४३ रन बनाए। त्यस्तै कुशल मल्लले ३७, रोहित पौडेलले २९, बिक्रम सोबले २४, राजेश पुलामीले १७ र भिम शार्कीले १५ रन बनाए।

बाग्मती प्रदेशका लागि तीब्र गतिका बलर गौतम केसीले ७.३ ओभर बलिङ गर्दै २२ रन खर्चिएर ४ विकेट लिएका थिए। त्यस्तै तिलक राज भण्डारी, नन्दन यादब र इशान पाण्डेले २/२ विकेट लिए।

खेलमा प्लेयर अफ द म्याच कुशल मल्ल चुनिए। प्रतियोगिता अन्तर्गत दोश्रो सेमीफाइनल खेल नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच २ माघमा हुनेछ भने फाइनल खेल ४ पुसमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्