कीर्तिमानी अंकले पनि क्लोपलाई विशेष लागेन

काठमाडौं। लिभरपुलले गएराति इङ्लिस प्रिमियर लिगमा टोटेनह्यामलाई १-० ले पराजित गर्दै सिजनमा सबभन्दा राम्रो शुरूआत गरे पनि प्रशिक्षक योर्गान क्लोपले उक्त उपलब्धि सामान्य भएको प्रतिक्रिया दिएका छन्।

लिभरपुलले जारी सिजन मात्र २१ खेलमा ६१ अंक बटुलेको छ। जुन युरोपको पाँच ठुला लिगमै सबभन्दा राम्रो सुरूआत हो।

लिभरपुलले २१ मध्ये २० मा जित र एक खेल बराबरी खेलेको छ। लिभरपुलले प्रिमियर लिगको पछिल्ला ३८ खेलमा १०४ अंक जोडेको छ। जुन आफैमा अर्को कीर्तिमान हो।

प्रिमियर लिगमा यसअघि कुनै पनि टिमले ३८ खेल यतिधेरै अंक जोड्न सकेको छैन। यसअघि म्यानचेस्टर सिटीले २०१८ मा र चेल्सीले २००५ मा १०२ अंक जाोडेका थिए।

"यसबारे मलाई थाहा छ। यो विशेष क्षण हो तर मलाई त्यस्तो अनुभव नै भएको छैन", लिभरपुलका प्रशिक्षक क्लोपले भने, "अझै हामीले धेरै खेल खेल्न बाँकी छ। यो त शुरूआत मात्र हो। यो लयलाई हामीले निरन्तरता दिनुपर्छ। किनकी हाम्रा प्रतिद्वन्द्वी धेरै बलिया छन्। पेप ग्वार्डिओलाले अझै हार मानिसकेका छैनन्। मलाई पनि त्यस्तै लाग्छ। हामीले अझ लामो बाटो तय गर्नुपर्छ।"

लिभरपुललाई जिताउन ब्राजिलियन फरवार्ड रोबर्टो फिर्मिनोले ३७औं मिनेटमा गरेको पर्याप्त भयो।

उनले टोटेनह्याममा डेब्यू गरेका जाफेट टनगनगालाई कटाएर वायाँ खुट्टाले हानेको सशक्त प्रहारलाई गोलकिपर पाउलो गाजानिगाले रोक्न सकेनन्।

सन ह्युङ-मिन र बैकल्पिक खेलाडी जियोभानीले लो सेल्सोले दोस्रो हाफमा पाएको गोलको सुन्दर अवसर खेर फाल्दा टोटेनह्यामले घरेलु मैदानमा अंक लिने अवसर गुमायो।

"यो फुटबल हो। जहाँ कहिले आफूले पाउनुपर्ने भन्दा धेरै पाइन्छ कहिले कम। आज हामीले केही पाएनौं तर हामी जितका हकदार थियौं। चोटका कारण केही खेलाडी उपलब्ध नहुँदा पनि यो टीमले जस्तो प्रदर्शन गर्‍यो त्यसबाट म सन्तुष्ट छु", शीर्ष चारको सम्भावनाबारे टोटेनह्यामका प्रशिक्षक माउरिन्होले भने, "सिजनको शुरूबाटै भएको भए केही भन्न सकिन्थ्यो। तर, अहिले धेरै पछाडी छौं, त्यसैले गाह्रो हुन्छ।"

२२ खेलबाट ३० अंक जोडेको टोटेनह्याम आठौं स्थानमा छ। जुन चौथो स्थानको चेल्सीभन्दा ९ अंकले पछाडी हो। जितसँगै लिभरपुल तीन दशकपछि पहिलो पटक लिग उपाधि नजिक पुगेको छ।

लिभरपुलले एक खेल बाढी खेलेको लेस्टर सिटीलाई १६ अंकले पछि पारेको छ।

साविक विजेता म्यानचेस्टर सिटी २१ खेलबाट ४४ अंकका साथ तेस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्