क्रुसले गरे कर्नरमा गोल, रियाल फाइनलमा
काठमाडौं। टोनी क्रुसले कर्नरमा गोल गरेको खेलमा रियाल मड्रिडले गएराती स्पेनिस सुपर कपमा भ्यालेन्सियालाई ३-१ ले हराउँदै फाइनलमा स्थान बनाएको छ।

साउदी अरबको किंग अब्दुल्लाह स्पोर्टस सिटीमा रियालले १५औं मिनेटमा कर्नर किकको अवसर पाएको थियो।

भ्यालेन्सिका गोलकिपर जाउमी डोमेनेचले रक्षकहरूलाई निर्देशन दिन गोलबाट अगाडी बढेका थिए।

त्यही अवस्थामा क्रुसले चलाखीपूर्ण ढंगले हानेको कर्नर गोलमा परिणत भएको थिए।

भ्यालेन्सियाका गोलकिपर डोमेनेचले पछाडी फर्किएर बचाउने प्रयास गरेका थिए। तर उनको पञ्चले बल झनै पोष्टभित्र छिरेको थियो।

३९औं मिनेटमा इस्कोले भलीमा गोल गर्दै रियालको अग्रता दोब्बर बनाए।

६५औं मिनेटमा लुका मोड्रिचले अर्को गोल थपेपछि रियालले तीन गोलको अग्रता लियो।

अन्तिम मिनेटमा ड्यानियल परेजोले पेनाल्टीमा गरेको गोल भ्यालेन्सिका लागि सान्त्वना बन्यो।

सर्जियो रामोसले क्लियर गर्नेक्रममा हातले बल छोएपछि रेफ्री जिसस गिलले भिडियो सहायक रेफ्रीको सहायतामा पेनाल्टी दिने निर्णय गरेका थिए।

रियालले अब बार्सिलोना र एट्लेटिको मड्रिडबीचको विजेतासँग उपाधिका लागि आइतबार प्रतिस्पर्धा गर्नेछ।

बार्सिलोना र एट्लेटिकोले आज राति प्रतिस्पर्धा गर्नेछन्।

यो सिजन प्रतियोगिताको स्वरूपमा परिवर्तन गरिएको छ। ला लिगाको शीर्ष दुई क्लब र कोपा डेल रेको फाइनल खेल्ने दुई क्लबले यस प्रतियोगतामा प्रतिस्पर्धा गर्नेछन्।

यसअघि ला लिगा र कोपा डेल रेको विजेताले सिधै उपाधिका लागि प्रतिस्पर्धा गर्थे।

रियालले गत सिजन ला लिगाको तेस्रो स्थान रहेको थियो।

तर, बार्सिलाना ला लिगाको शीर्ष स्थानमा रहनुको साथै कोपा डेल रेको उपविजेता भएका कारण रियालले मौका पाएको हो।

गोल अन्तरका आधरमा जारी सिजन ला लिगाको दोस्रो स्थानमा रहेको रियालले शुरूबाटै भ्यालेन्सियालाई दबाबमा राखेको थियो।

जिनेदिन जिदानको रियालले गोलका लागि १७ प्रयास गरेको थियो।

इस्कोको हेड पोष्टमा लागेर फर्किएको थियो भने लुका जोभिचले दुई यार्डबाट हानेको प्रहार डोमेनिचले रोकिदिएका थिए।

प्रतिक्रिया दिनुहोस्