आर्सनल प्रशिक्षक आर्टेटा रिसाएपछि

काठमाडौं। मध्यान्तरमा मुख्य प्रशिक्षक मिकेल आर्टेटाले खेलाडीलाई गाली गरेपछि आर्सनलले गएराति सम्पन्न एफए कपमा लिड्स युनाइटेडलाई १-० ले पराजित गर्दै चौथो चरणमा स्थान बनाउन सफल भएको छ।

पहिलो हाफमा लिड्सले खेल नियन्त्रणमा राखेको थियो। भ्रमणकारी लिड्सले पहिलो हाफमा १५ पटक गोलका लागि प्रयास गरेको थियो।

त्यसमध्ये प्याट्रिक बामफोर्डको प्रहार क्रसबारमा लागेर फर्किएको थियो भने आर्सनलका गोलकिपर इमिलियानो मार्टिनेजले निकै व्यस्त बनेका थिए।

मार्टिनेज केही सुन्दर बचाए पनि गरे।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको आर्सनलले ५५औं मिनेटमा रेइस नेल्सनको गोलमा अग्रता लियो।

नेल्सनको त्यही गोल आर्सनलको जितमा निर्णायक बन्यो।

आर्सनलका गोलकिपर मार्टिनेजले प्रशिक्षक आर्टेटा साच्चिकै धेरै रिसाएको बताए।

त्यस्तै फरवार्ड एलेसान्द्रे लाकाजेटले भने, ‘प्रशिक्षकले धेरै गाली गरे। उनी खुशी थिएनन्।

किनकी लिड्सले यहाँ त्यस्तो राम्रो खेलेको थियो र हामीले उनीहरूलाई रोक्न सकेका थिएनौं।’

आर्सनलले अब चौथो चरणमा बर्नमाउथको भ्रमण गर्नेछ। प्रशिक्षक आर्टेटाले यो खेलबाट खेलाडीले धेरै कुरा सिकेको बताए।

"अहिले म धेरै खुशी छु। हामीले दुई फरक टिम देख्यौं। पहिलो ३० मिनेटसम्म एउटा टिम र त्यसपछिको टिम," पहिलो हाफको प्रदर्शनबारे आर्सनल प्रशिक्षक आर्टेटाले भने, "म उनीहरूलाई खेलको अवस्थाबारे भनिरहेको थिए। मध्यान्तरमा हामीले टिमको मनोवृत्ती, चाहना र संगठनमा परिवर्तन गर्यो र दोस्रो हाफमा नतिजा निस्कियो।"

नयाँ वर्षको खेल तालिकामा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित गरेपछि लिड्सविरुद्ध खेलेको हो।

तर, १३ पटक एफए कपको उपाधि जितिसकेको आर्सनलले लिड्सविरुद्ध पहिलो हाफमा ३७.२ प्रतिसत मात्र बल पोसेसन राख्न सकेको थियो।

प्रतिक्रिया दिनुहोस्