लुकाकुको दुई गोलले इन्टर शीर्ष स्थानमा फर्कियो

काठमाडौं। रोमेलु लुकाकुले दुई गोल गरेको खेलमा इन्टर मिलानले नेपोलीलाई ३-१ ले पराजित गर्दै इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ।

चाडो गरी भएको खेलमा युभेन्टसले कागलिएरीलाई ४-० ले हराउँदै केही समयका लागि शीर्ष स्थानमा उक्लिएको थियो।

तर, इन्टरले आठौं स्थानको नेपोलीलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो।

लुकाकुले १४औं मिनेटमा गरेको गोलमा इन्टरले अग्रता लिएको थियो। ३३औं मिनेटमा लुकाकुले इन्टरको अग्रता दोब्बर बनाए।

त्यसको ६ मिनेट नविन्दै अर्काडिउज मिलिकको गोलमा नेपोलीले पुनरागमन गर्ने प्रयास गरे पनि ६२औं मिनेटमा लउटारो मार्टिनेजले अर्को गोल गरेपछि इन्टरको जित पक्का भएको थियो।

म्यानचेस्टर युनाइटेडबाट गत अगष्टमा ७ करोड ४० लाख पाउण्डमा इटाली आएका लुकाकुले सिरी ‘ए’ मा १४ गोल गरिसकेका छन्।

सिरीको जारी सिजनमा बेल्जियमका २६ वर्षे लुकाकुभन्दा लाजियोका सिरो इमोबाइलले मात्र धेरै गोल (१९) गोल गरेका छन्।

क्रिष्टियानो रोनाल्डो (१३) तेस्रो स्थानमा छन्।

प्रशिक्षक कार्लो एन्सेलोट्टीलाई बर्खास्त गरेपछि नेपोलीले पछिल्लो तीनमध्ये दुई खेलमा पराजित भइसकेको छ।

इन्टर र युभेन्टसको १८ खेलबाट समान ४५ अंक जुन तेस्रो स्थानको लाजियोको भन्दा ६ अंकले बढी हो।

प्रतिक्रिया दिनुहोस्