दोस्रो पटक गोलरहित बराबरीमा रोकियो रियाल

काठमाडौं। रियाल मड्रिड स्पेनिस ला लिगामा लगातार दोस्रो पटक गोलरहित बराबरीमा रोकिएको छ।

रियालले गएराति एथलेटिक बिल्बाओसँग गोलरहित बराबरी खेलेको हो।

स्पेनिस महारथी रियालले घरेलु मैदानमा गोलको केही राम्रा अवसर खेर फाले।

टोनी क्रुस र वैकल्पिक खेलाडी नाचोको प्रहार क्रसबारमा लागेर फर्किएको थियो।

लुका जोभिचको प्रहार पनि पोष्टमा लागेर फर्कियो। करिम बेन्जेमाका लागि पनि गएको राति सुखद भएन।

बेन्जेमाको सात वटा प्रहार गोलमा परिणत हुन सकेन। त्यसमध्ये बेन्जेमाको चार वटा प्रहार त बिल्बाओका गोलकिपर युनाई सिमोनले बचाएका थिए।

२ पुसमा चीर प्रतिद्वन्द्वी बार्सिलोनासँग गोलरहित बराबरी खेलेको रियाल एथलेटिक बिल्बाओसँग पनि गोलरहित बराबरीमा रोकिएको हो।

साविक विजेता बार्सिलोनाले १८ खेल सकिँदा रियाललाई दुई अंकले पछि पारेको छ।

५ पुसमा डेपोर्टिभो अलाभेसलाई ४-१ पराजित गरेको बार्सिलोना ३९ अंकका साथ शीर्ष स्थानमा छ। एथलेटिको बिल्बाओ २८ अंकका साथ सातौं स्थानमा छ।

लगातार गोलरहित बराबरी खेलेपछि रियाललाई नयाँ फरवार्ड आवश्यक गरेको हो? भन्ने प्रश्नमा प्रशिक्षक जिनेदिन जिदानले भने, "कदापि होइन, मलाई नयाँ फरवार्ड अनुबन्ध गर्नुपर्छ जस्तो लाग्दैन। यो कुरा मलाई गिज्याएको जस्तो लाग्छ।"

ला लिगामा गएराति नै एट्लेटिको मड्रिडले रियाल बेटिसलाई २-१ ले पराजित गर्दै चौथो स्थानमा उक्लिएको छ।

रियाल सोसिडाडले ओसासुनालाई ४-३ ले पराजित गर्दै पाँचौं स्थानमा उक्लियो।

लेगानेसले इस्पानियोललाई २-० ले पराजित गर्दा लेभान्टेले सेल्टाभिगोलाई ३–१ ले पराजित गरेको छ।

प्रतिक्रिया दिनुहोस्