चितवनको अपराजित यात्रा कायमै

काठमाडौं। चितवन राइनोजले पोखरा प्रिमियर लिगमा अपराजित यात्रालाई चौथो खेलमा पनि कायम राख्दै फाइनलमा सम्भावना बलियो बनाएको छ।

चितवनले आज पोखरा रंगशलाको क्रिकेट मैदानमा विराटनगर टाइटन्सलाई १८ रनले पराजित गरेको हो।

चितवन लिग चरणमा अब दोस्रो स्थानको काठमाडौं गोल्डेन्सविरुद्ध खेल्न बाँकी छ।

चितवन ४ खेलबाट ८ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको काठमाडौं गोल्डेन्सले ४ अंक जोडेको छ। तीन खेलबाट ४ अंक जोडेको बुटवल तेस्रो स्थानमा छ।

बुटवल अब विराटनगर र धनगढी ब्लुजसँग खेल्न बाँकी छ। चितवन काठमाडौंसँग पराजित भयो र बुटबलले बाँकी दुबै खेल जिते चितवनसँग अंक बराबर गर्नेछ।

चितवनले काठमाडौंलाई हराए सिधै फाइनलमा स्थान बनाउनेछ।

विराटनगरका कप्तान प्रदीप ऐरीले टस जितेर चितवनलाई ब्याटिङको निम्तो दिएका थिए।

चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४६ रन बनायो। १४७ रनको लक्ष्य पछ्याएको विराटनगरले १२८ रन जोड्दा सबै विकेट गुमायो।

विराटनगरका लोकेश बमले ६२ रन जोडे पनि टोलीलाई जिताउन सकेनन्।

लोकेशबाहेक पुनित मेहेराले २४ र नोमन खानले १८ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

चितवनका करण केसी र भुवन कार्कीले समान ३ विकेट लिए। रोहन मुस्तफाले २ तथा सन्नी पटेलले १ विकेट लिए।

त्यसअघि ब्याटिङतर्फ चितवनका लागि आरिफ शेखले सबभन्दा धेरै अविजित ३९ रन बनाए। उनले सन्नी पटेलसँग अविजित ५४ रनको साझेदारी गरे।

सन्नी २७ रनमा अविजित रहे। कप्तान पारस खड्काले ३५ र बाबर हायतले २५ रन जोडे।

पारस र बाबरले दोस्रो विकेटका लागि ४७ रनको साझेदारी गरेका थिए।

रोहन मुस्तफा ७ र अनिलकुमार शाह ३ रनमा आउट भए।

विराटनगरका जितेन्द्र मुखिया, किशोर महतो, पुनित मेहेरा र मुहम्मद जाइद आलमले १/१ विकेट लिए।

चितवनले यसअघि पोखरा पल्टनलाई ६ विकेट, बुटबल ब्लास्टरलाई ११९ र धनगढी ब्लुजलाई ५२ रनले पराजित गरेको थियो।

विराटनगरले भने १ खेलमात्र जितेको छ।

प्रतिक्रिया दिनुहोस्