माल्दिभ्स भलिबल लिगको उपाधि प्रतिभा मालीको टोलीलाई

काठमाडौं। नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर प्रतिभा मालीको टोलीले माल्दिभ्स लिग भलिबलको उपाधि जितेको छ।

गएराति सम्पन्न फाइनलमा प्रतिभाको उत्कृष्ट प्रदर्शनप्रेरित पुलिस टिमले वाम्को क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो।

फाइनलमा पहिलो सेट प्रतस्पर्धात्मक रहे पनि बाँकी सेटमा प्रतिभाको टोलीले सहज नतिजा निकालेको थियो।

प्रतिभाको टोलीले पहिलो सेट २७-२५ ले जितेको थियो भने बाँकी सेट २५-१९, २५-१८ ले जित्यो।

"यो प्रतियोगितामा विदेशी खेलाडीहरु हुने भएका कारण खेल्दा अर्कै अनुभव हुन्छ। एकदम व्यवसायिक प्रतियोगिता खेलेको फिल हुन्छ", प्रतिभाले भनिन्, "टोलीको जितमा योगदान गर्न पाउँदा खुशी छु।"

१३औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपाललाई रजत पदक जिताउन महत्वपूर्ण भुमिका खेलेकी प्रतिभा फाइनलमा प्लेयर अफ दी म्याच घोषित भइन्। प्रतिभा २६ मंसीरमा माल्दिभ्स गएकी थिइन्।

प्रतिभाले माल्दिभ्समा खेलेको यो पहिलो भने होइन। यो तेस्रो पटक हो।

यसअघि प्रतिभाले मिस्किमागुबाट खेलेकी थिइन्। त्यतिबेला उपाधि जितेसँगै प्रतिभा प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएकी थिइन्।

नेपाली महिला भलिबल राष्ट्रिय टोलीकी अर्की स्पाइकर सरस्वती चौधरी पनि प्रतियोगिता खेल्न माल्दिभ्स गएकी थिइन्।

सरस्वतीको टीम लोरेन्जो लिगमा तेस्रो भयो।

यसअघि नेपाली खेलाडी अरुणा शाही, कोपिला उप्रेती र मञ्जु गुरुङले पनि माल्दिभ्समा खेलिसकेका छन्।

अरुणा र मञ्जुले राफिस्डाबाट खेलेका थिए। कोपिलाले पनि प्रतिभाकै टोली मिस्किमागुबाट खेलेकी थिइन्।

गत महीना बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा पनि प्रतिभा उत्कृष्ट खेलाडी घोषित भएकी थिइन्।

उक्त प्रतियोगितामा नेपाल विजेता बनेको थियो।

प्रतिक्रिया दिनुहोस्