सिटीको जितमा डी ब्रुयनाको प्रभाव

काठमाडौं। केभिन डी ब्रुयनाको उत्कृष्ट प्रदर्शनप्रेरित म्यानचेस्टर सिटीले गएराति इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानको लेस्टर सिटीलाई ३–१ ले पराजित गरेको छ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लामो समयपछि डी ब्रुयनाले उत्कृष्ट प्रदर्शन गरेको बताए।

बेल्जियमका २८ वर्षे मिडफिल्डर डी ब्रुयनाकै प्रदर्शनमा साविक विजेता सिटीले लेस्टरसँगको दुरी १ अंकमा छोट्याएको छ।

डी ब्रुयनाले गाब्रियल जिससको गोलमा अवसर सिर्जना गरिदिएका थिए। जिससबाहेक सिटीको जितमा रियाद माहरेज र इल्के गुन्डोगनले गोल गरे।

सिटीको घरेलु मैदानमा जेमी भार्डेको गोलमा लेस्टरले शुरूमै अग्रता लिएको थियो। तथापी लेस्टरले अग्रता जोगाउन नसक्दा अंक गुमायो।

“डी ब्रुयना असाधारण खेलाडी हुन्”, सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, “उनले हामीलाई जिताएका छन्।”

आर्सनललाई ३–० ले हराउँदा डी ब्रुयनाले २ गोल गरेका थिए। चेल्सीका पूर्व खेलाडी डी ब्रुयना उत्कृष्ट पाँच खेलाडीमा पर्न सफल भएका छन्।

जितसँगै सिटीले १८ खेलबाट ३८ अंक जोडेको छ। जुन शीर्ष स्थानको लिभरपुलभन्दा ११ अंकले कम हो। तथापी लिभरपुलले एक खेल कम खेलेको छ। दोस्रो स्थानमा रहेको लेस्टरको ३९ अंक छ।

“टोलीको प्रदर्शनबाट म खुशी छु। हामीले धेरै अवसर सिर्जना गर्यौं र साच्चिकै राम्रो फुटबल खेल्यौं”, जितपछि सिटीका प्रशिक्षक ग्वर्डिओलाले भने, “हामीसँगै भए देखी नै डी ब्रुयनाले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनको लगनशीलता गज्जबको छ, उनी लडाकु हुन्।”

लेस्टरका प्रशिक्षक ब्रेन्डन रोजर्सले पनि खुलेर डी ब्रुयनाको प्रशंसा गरे।

“विपक्षीको क्षमतालाई हामीले सम्मान गर्नुपर्छ। प्रविधिक रुपमा उनीहरु अर्कै स्थानमा छन्”, लेस्टरका प्रशिक्षक रोजर्सले भने, “आज डी ब्रुयनाले विश्वस्तरीय प्रदर्शन गरे।”

५ पुसमै भएको प्रिमियर लिगमा साउथह्याम्पटनले एस्टन भिल्लालाई ३–१ ले पराजित गर्दा न्युक्यासल युनाइटेडले क्रिष्टल प्यालेसमाथि १–० को जित दर्ता गरेको छ।

उल्भरह्याम्पटनले नर्विच सिटीलाई २–१ ले हरायो। सेफिल्ड युनाइटेडले ब्राइटनलाई तथा बर्नलीले बर्नमाउथलाई समान १–० को नतिजामा पराजित गरेको छ।

प्रतिक्रिया दिनुहोस्