२०१९ मा मेसीको पचासौं गोल

काठमाडौं। लियोनल मेसीले यो वर्ष ५०औं गोल गरेको दिन बार्सिलोनाले गएराति डेपोर्टिभो अलाभेसमाथि ४–१ को सहज नतिजा निकालेको छ।

यससँगै बार्सिलोनाले घरेलु मैदानमा अपराजित रहदै २०१९ को अन्त्य गर्‍यो।

लुइस स्वारेजले तीन गोलमा अवसर सिर्जना गरे भने एक गोल आफैले पेनाल्टीमा गरे।

एन्टोइन ग्रिजम्यानको गोलमा बार्सिलोनाले १४औं मिनेटमा अग्रता लियो। पहिलो हाफको अन्तिममा अर्टुरो भिडालले घरेलु टोलीको अग्रता दोब्बर बनाए।

दोस्रो हाफमा अलाभेसले सुधारिएको प्रदर्शन गर्‍यो। दोस्रो हाफमा शुरूको २० मिनेट बार्सिलोनामाथि दबाब सिर्जना गरेको अलाभेसले पेरे पोन्सको गोलबाट पूनरागमनको संकेत गरेको थियो।

तर मेसीले २५ यार्डबाट उत्कृष्ट गोल गरेपछि अलाभेस निरिह बनेको थियो। लगत्तै स्वारेजले पेनाल्टीमा अर्को थपेपछि बार्सिलोना सहज जित सफल भयो।

नोउ क्याम्पमा बार्सिलोनाले २४ जित र ४ बराबरीसँगै २०१९ को अन्त्य गर्‍यो। २०११ पछि घरेलु मैदानमा अपराजित रहेको यो पहिलो वर्ष हो।

जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता बनाएको छ। बार्सिलोनाले १८ खेलमा ३९ अंक जोडेको छ भने दोस्रो स्थानको रियाल मड्रिडको ३६ अंक छ।

तथापी रियालले एक खेल कम खेलेको छ। आइतबार रियालले एथलेटिको विल्बाओलाई ६ गोलको अन्तरमा पराजित गरे बार्सिलाना दोस्रो स्थानमा झर्नेछ।

अर्जेन्टिनाका फरवार्ड मेसीले देश र क्लबबाट ५० गोल पुरा गर्नुअघि गरेको गोल रेफ्रीले मान्यता दिएनन्।

उनले विगतका १० मध्ये ९ वर्ष ५० गोल पुरा गरेका थिए। २०१९ मा मेसी युरोपको सबभन्दा धेरै गोल गर्ने खेलाडी बने। उनले ३२ ला लिगा खेलमा ३४ गोल गरे।

बार्सिलोनाको अपारजित यात्रा ११ खेलसम्म कायमै छ। अलाभेस भने पछिल्लो ५ खेलमा जित निकाल्न असफल रह्यो।

गएराति नै सेभियाले मालोर्कालाई २–० ले हराउँदा इबरले ग्रानाडामाथि ३–० को विजय हासिल गर्‍यो भने भिल्लारियलले गेटाफेलाई १–० ले पराजित गरेको छ।

प्रतिक्रिया दिनुहोस्