लिभरपुलमाथि एस्टनको फराकिलो जित

काठमाडौं। एस्टन भिल्लाले युरोपियन च्याम्पियन्स लिग विजेता लिभरपुलमाथि गएराति ५–० को फराकिलो जित निकाल्दै काराबाओ कपको अन्तिम ४ मा स्थान बनाएको छ।

भिल्ला पार्कमा लिभरपुलले सबभन्दा युवा टोली उतारेको थियो। एस्टन भिल्लाविरुद्ध भ्रमणकारी लिभरपुलको औसत उमेर १९.४८ वर्षको थियो।

जुन लिभरपुलको इतिहासमै सबभन्दा युवा टोली हो। लिभरपुलले तीन वर्षअघि एफए कपमा प्लेमाउथविरुद्ध खेल्दा २१.८१ वर्षको टोली खेलाएको थियो।

एस्टन भिल्लाले १९९६ मा काराबाओ कपको उपाधि जित्दा लिभरपुलको टोलीमा भएका कुनै पनि खेलाडी जन्मिएका थिएनन्।

रेफ्रीले अन्तिम सिटी फुक्दा लिभरपुलले लिग कपमा फराकिलो हार बेहोर्नुपर्‍यो।

लिभरपुल यसअघि वेस्ट ह्यामसँग १९८८ मा ४–१ र २००७ मा आर्सनलसँग ६–३ ले पराजित भएको थियो।

यू–२३ का प्रशिक्षक नेइल क्रिचलेको नेतृत्वमा रहेको लिभरपुलबाट ५ खेलाडीले डेब्यू गरेका थिए।

लिभरपुलको सिनियर टोली आज हुने क्लब विश्वकपका लागि कतारमा छ।

एस्टन भिल्लाले पनि प्रिमियर लिगमा सेफिल्ड युनाइटेडविरुद्ध खेलेको टोलीमा १० खेलाडी परिवर्तन गरेको थियो।

“हामीले शुरूमै केही राम्रा अवसर सिर्जना गरेका थियौँ। हामी साँच्चिकै अभागी रह्यौँ, शुरुमै पाएका अवसर सिर्जना गर्न सकेनौँ र उल्टै दुई गोल खान पुग्यौँ”, लिभरपुलका प्रशिक्षक क्रिचलेले भने।

लिभरपुलले राम्रो शुरुआत गरे पनि १४औं मिनेटमा गोल खाएपछि घरेलु टोली एस्टन भिल्ला लयमा फर्किएको थियो।

कोर्नर होउरिहेनको गोलबाट अग्रता लिएको एस्टन भिल्लाले १७औं मिनेटमा मोर्गन बोएसको आत्मघाती गोलमा अग्रता दोब्बर बनायो।

त्यसपछि जोनाथन कोड्जियाले ३७ र ४५औं मिनेटमा थप दुई गरेपछि लिभरपुल पहिलो हाफमै ४–० ले पछि परेको थियो।

अन्तिम मिनेटमा वेस्लेले अर्को गोल थपेपछि लिभरपुलमाथि ५–० को सानदार जित निकाल्दै एस्टन भिल्ला २०१२/१३ को सिजन पछि पहिलो पटक अन्तिम चारमा स्थान बनाउन सफल भयो।

“सम्भवतँ यो म सम्मिलित भएको ठूलो प्रतियोगिताको क्वार्टरफाइनलमध्येको एक हो। यूवा खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरे”, एस्टन भिल्लाका प्रशिक्षक डिन स्मिथले भने, “यसको श्रेय खेलाडीलाई जान्छ। खेलअघि मैले एटिच्युड भन्ने शब्द प्रयोग गरेको थिएँ। आज यो सही सावित बन्यो तर हामीले अझै राम्रो गर्नुपर्ने छ। सबैले हामीबाट जितको अपेक्षा राखेका छन्। त्यो हासिल गर्नुपर्नेछ।”

पाँच पटकको विजेता एस्टन भिल्लाले अब जनवरीमा एभर्टन र लेस्टरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

त्यस्तै रेलिगेशनबाट संघर्ष गरिरहेको एस्टन भिल्लाले प्रिमियर लिगमा अब साउथह्याम्पटन, नर्विच सिटी र वाटफोर्डविरुद्ध खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्