स्ट्राक र लियोनको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलिया विजयी

काठमाडौं। अष्ट्रेलियाले आज न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा २९६ रनको सहज नतिजा निकाल्दै तीन खेलको टेस्ट शृंखलामा १–० ले अग्रता लिएको छ। घरेलु टोलीको तीव्र गतिका बलर मिचेल स्टार्कले ९ विकेट लिए। उनी म्यान अफ दी म्याच घोषित भए।

चौथोको दिन चिया ब्रेकपछि अष्ट्रेलियाले १७ रन दिएर ५ विकेट लिएको थियो। त्यसअघि अष्ट्रेलियाले २१७–९ को स्थितिमा दोस्रो इनिङको घोषणा गरेको थियो।

पर्थमा १६७–६ को स्थितिबाट चौथो दिनको शुरूआत गरेको अष्ट्रेलियाले तीन विकेट गुमाएर थप ५० रन जोडेको थियो। चौथो दिन शुरू गर्दा म्याथ्यू वेड आठ र पेट कुमिन्स एक रनको स्थितिमा थिए। वेडले १७, कुमिन्सले १३ र मिचेल स्टार्कले २३ रन जोडे।

न्युजिल्यान्डका टीम साउथीले पाँच विकेट लिँदा नेल वागनरले तीन तथा कोलिन डी ग्रान्डहोमले एक विकेट लिए। त्यसपछि ४६८ रनको लक्ष्य पाएको न्युजिल्यान्डले १७१ रन जोड्दा सबै विकेट गुमायो। अष्ट्रेलियाका मिचेल स्टार्क र नाथन लियोनले समान चार विकेट लिँदा कुमिन्सले दुई विकेट लिए।

बिजे वाट्लिङले बनाएको ४० रन नै न्युजिल्यान्डको इनिङमा बनेको सबभन्दा ठूलो स्कोर हो। डी ग्राण्डहोमले ३३, रोस टेलरले २२ र हेनरी निकोलसले २१ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

प्रतिक्रिया दिनुहोस्