एन्फा एकेडेमीका खेलाडीद्वारा महिला फुटबल एकेडेमीलाई सहयोग

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा सञ्चालित एकेडेमीका पहिलो ब्याचका खेलाडीले आज रौतहटमा सञ्चालित महिला फुटबल एकेडेमीलाई खेल सामग्री प्रदान गरेका छन्। एन्फा एकेडेमी पहिलो ब्याचका खेलाडीहरूले रौतहटको चन्द्रनिगाहपुरमा सञ्चालित महिला फुटबल एकेडेमीका खेलाडीलाई ६० थान ट्रयाकसुट र जर्सी उपलब्ध गराएको हो।

बानेश्वरस्थित बानेश्वर रिक्रियसन सेन्टरमा एन्फा एकेडेमी पहिलो ब्याचका खेलाडीले महिला फुटबल एकेडेमीका प्रशिक्षक नुरराज काफ्लेलाई सामग्री हस्तान्तरण गरे। महिला फुटबल एकेडेमीको बारेमा ‘हेर्ने कथा’ कार्यक्रममा देखाइएको विषयवस्तुबाट आफूहरू प्रभावित बनेको एन्फा एकेडेमी पहिलो ब्याचका मानसाजन राजभण्डारीले बताए।

‘आर्थिक अवस्था कमजोर हुँदा पनि फुटबलको माध्यमबाट देशका लागि योगदान गर्ने प्रतिबद्धताका साथ संघर्ष गरिरहेका बहिनीहरूलाई सानै भए पनि सहयोग गरौं भन्ने भावनाका साथ सहयोग गरेका हौं”, उनले भने।

महिला फुटबल एकेडेमीका प्रशिक्षक काफ्लेले आफ्नो एकेडेमीबाट अहिलेको राष्ट्रिय टोलीमा पाँचजना खेलाडी रहेको बताए। अहिले एन्फाले बहराइन लगेको यु–१९ टोलीमा रौतहट एकेडेमीको खेलाडी संख्या अझ बढी रहेको उनको भनाइ छ।

एन्फा एकेडेमीको पहिलो ब्याचका खेलाडीहरूले गत वर्ष पनि गजेन्द्र रानाले सुर्खेतमा सञ्चालन गरेको सामुदायिक विद्यालयलाई आठ लाख रुपैयाँ नगद सहयोग गरेका थिए। उनीहरूले भविष्यमा पनि आफूहरूले फुटबलमा सहयोग गरिरहने बताए।

प्रतिक्रिया दिनुहोस्