बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं। स्पेनिस ला लिगाको शीर्ष क्लब बार्सिलोना चौथो स्थानको रियाल सोसिडाडसँग २–२ को बराबरीमा रोकिएको छ।

गएरातिको खेलमा मिकेल ओरजाबलले पेनाल्टीमा गरेको गोलमा सोसिडाडले १२औं मिनेटमा अग्रता लिएको थियो। एन्टोइन ग्रिजम्यानले ३८औं मिनेटमा बराबरी गोल फर्काएका थिए। ४९औं मिनेटमा लुइस स्वारेजले गरेको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो।

तर साविक विजेता बार्सिलोनाले अग्रता जोगाउन नसक्दा १ अंकमा चित्त बुझाउनु पर्‍यो । ६२औं मिनेटमा एलेक्जेन्डर इसाकले बराबरी गोल फर्काएका थिए।

बराबरीसँगै बार्सिलोनाले शीर्ष स्थानमा अग्रता फराकिलो बनाउने मौका चुकाएको छ। बार्सिलोनाले दोस्रो स्थानको रियाल मड्रिडलाई १ अंकले मात्र पछि पारेको छ। तर रियालले १ खेल कम खेलेको छ। आज राति रियाल मड्रिडले भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्नेछ।

गएराति नै एट्लेटिको मड्रिडले ओसासुनालाई २–० ले पराजित गर्‍यो । यसँगै एट्लेटिको चौथो स्थानमा उक्लिएको छ। एट्लेटिकोले १७ खेलबाट २९ अंक जोडेको छ। जुन तेस्रो स्थानको सेभियाभन्दा २ अंकले कम हो र पाँचौं स्थानको सोसिडाडभन्दा १ अंकले माथि हो। एट्लेटिकोको जितमा अल्भारो मोराटा र साउल निगुरेजले गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्