ला लिगामा एट्लेटिकोलाई पाँच अंकको अग्रता

काठमाडौं। एट्लेटिको मड्रिडले गएराति भिल्लारियाललाई २–० ले पराजित गरेको छ। जितसँगै एट्लेटिकोले स्पेनिस ला लिगाको शीर्ष स्थानमा पाँच अंकको स्पष्ट अग्रता लिएको छ।

२०१३÷१४ को सिजनपछि पहिलो पटक ला लिगाको उपाधि जित्ने लक्ष्यमा रहेको एट्लेटिकोले दोस्रो स्थानको बार्सिलोनालाई पाँच अंकले पछाडि पारेको हो। एट्लेटिकोले अझै एक खेल कम खेलेको छ।

डिएगो सिमोनको एट्लेटिकोले २४ खेलबाट ५८ अंक जोडेको छ भने बार्सिलोनाले २५ खेलबाट ५३ अंक जोडेको छ। तेस्रो स्थानमा रहेको रियाल मड्रिडले २४ खेलबाट ५२ अंक जोडेको छ।

भिल्लारियालको घरेलु मैदानमा अल्फोन्सो पेड्राजाको आत्मघाती गोलबाट एट्लेटिको मड्रिडले २७औं मिनेटमा अग्रता लिएको हो। ६९औं मिनेटमा जोओ फेलिक्सले एट्लेटिकोको अग्रता दोब्बर बनाए।

महत्वपूर्ण तीन अंक जोडेको एट्लेटिको अब मड्रिड डर्बीमा रियालविरुद्ध प्रतिस्पर्धा गर्नेछ। एट्लेटिको यसअघि च्याम्पियन्स लिगमा चेल्सीसँग १–० ले पराजित भएको थियो।

ला लिगामा एट्लेटिको मड्रिडको रक्षापंक्ति मजबुद देखिएको छ। एट्लेटिकोले लिगको २४ खेलमा १६ गोलमात्र खाएको छ। रियालले आजराति रियाल सोसिडाडलाई पराजित गरे बार्सिलोनालाई पछि पार्दै दोस्रो स्थानमा उक्लनेछ।

प्रतिक्रिया दिनुहोस्