म्यान्चेस्टर सिटीको लगातार २०औं जित

काठमाडौं। म्यानचेस्टर सिटीले लगातारको विजयी यात्रालाई २० खेलसम्म कायम राखेको छ। रुबेन डियाज र जोन स्टोन्सको गोलमा सिटीले गएराति वेष्ट ह्याम युनाइटेडलाई २–१ ले पराजित गरेको हो।

जितपछि सिटीले इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा १३ अंकको अग्रता लिएको छ। सिटीले २६ खेलबाट ६२ अंक जोडेको हो। जुन दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको भन्दा १३ अंकले माथि हो।

तथापि सिटीले एक खेल बढी खेलेको छ। वेष्ट ह्याम भने ४५ अंकका साथ चौथो स्थानमा छ।

केभिन डी ब्रुयनाको पासमा डियाजले ३०औं मिनेटमा गरेको गोलबाट सिटीले अग्रता लिएको थियो। जेसी लिङ्गार्डको पासमा माइकल एन्टोनियोले ४३औं मिनेटमा बराबरी गोल फर्काए। ६८औं मिनेटमा रियाद महारेजको पासमा स्टोन्सले गरेको गोल सिटीको जितमा निर्णायक बन्यो।

प्रशिक्षकका रुपमा बार्सिलोना तथा बायर्नका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाको यो ५००औं खेल हो। सिटीबाट उनको यो २००औं जित हो। सिटीमा उनको यो २७३औं खेल थियो।

जितसँगै ग्वार्डिओलाको सिटी उपाधि होडमा बलियो देखिएको छ। सिटी सबैखाले प्रतियोगितिामा गरी २७ खेलसम्म अपराजित छ। मंगलबार उल्भरह्याम्टनसँग पराजित नभएमा सिटीले क्लबको सबभन्दा लामो अपराजित यात्रासँग बराबरी गर्नेछ।

प्रियिमर लिगको अन्य खेलमा वेष्ट ब्रोमले ब्राइटनलाई १–० ले पराजित गर्यो भने एस्टन भिल्लाले लिड्स युनाइटेडलाई १–० ले हरायो। न्युक्यासल युनाइटेड र उल्भरह्याम्पटनले १–१ को बराबरी खेले।

प्रतिक्रिया दिनुहोस्