मिलान र रोमा अन्तिम १६ मा, नेपोली बाहिरियो

काठमाडौं। इटालियन सिरी ‘ए’ को उपाधि होडमा रहेका एसी मिलान र एएस रोमाले युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउँदा अर्को क्लब नेपोली भने प्रतियोगिताबाट बाहिरिएको छ।

नेपोलीले गएराति घरेलु मैदानमा २–१ को नतिजा निकाले पनि समग्रामा ३–२ ले पराजित भएपछि युरोपा लिगबाट बाहिरिएको हो। स्पेनको ग्रानाडाविरुद्ध नेपोलीले तेस्रो मिनेटमै पियोट जिलिनस्कीको गोलबाट अग्रता लिएको थियो। २५औं मिनेटमा ग्रानाडाका एन्जेल मोन्टोरोले बराबरी गोल फर्काए।

५९औं मिनेटमा फाबियनले गरेको गोलबाट नेपोलीले विजय हासिल गरे पनि प्रतियोगितामा अगाडिको यात्रा तय गर्न सकेन। नेपोली पहिलो लेगमा पहिलो लेगमा २–० ले पराजित भएको थियो।

मिलानले घरेलु मैदानमा सर्वियाको क्लब एफके सर्भेना जभेज्डाविरुद्ध १–१ को बराबरी खेले पनि अवे गोलका आधारमा अन्तिम १६ मा स्थान बनाएको हो। मिलानले पहिलो लेगमा २–२ को बराबरी खेलेको थियो।

मिलानले गएराति नवौं मिनेटमा अग्रता लिएको थियो। फ्रान्क केसीइले पेनाल्टीमा गरेको गोलबाट मिलानले अग्रता लिएको हो। २४औं मिनेटमा इल फर्डोउ बेन नाबोउहानेले बराबरी गोल फर्काएका थिए।

रोमाले पोर्चुगलको क्लब ब्रागालाई ३–१ को हराएको हो। रोमाले समग्रमा ५–१ को नतिजा निकाल्दै अन्तिम १६ मा स्थान बनाएको हो। रोमाका जितमा गएराति इडेन जेको, कार्लेस परेज र बोर्जा मयोरलले गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्