‘मेस्सीले जुनसुकै क्लबबाट सन्न्यास लिन सक्छन्’

काठमाडौं। एथ्लेटिको मड्रिडका फरवार्ड लुइस स्वारेजले पूर्वसहकर्मी बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जुनसुकै टिमबाट सन्यास लिन सक्ने बताएका छन्। मेस्सीको भविष्य अन्योलमा भइरहँदा स्वारेजको यस्तो अभिव्यक्ति बाहिर आएको हो।

जारी सिजनको समाप्तिसँगै बार्सिलोनासँग मेस्सीको सम्झैता सकिनेछ। त्यसपछि ६ पटकका बालोन डी‘ओर अवार्ड विजेता मेस्सीले ‘फ्री ट्रान्सफर’ मा बार्सिलोना छाड्ने सम्भावना छ।

मेस्सी अहिले फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीसँग नजिक रहेको बताइएको छ।

३३ वर्षे फरवार्ड मेस्सीले २०२०÷२१ को सिजनअघि नै क्याम्प नोउ छाड्ने प्रयास गरेका थिए। तर क्लबसँगको सम्झैतालाई लिएर कानुनी अड्चन खडा भएपछि मेस्सीले बार्सिलोनामै बस्ने निर्णय गरेका थिए।

स्वारेजले बार्सिलोनाबाट मेस्सीसँगै चार ला लिगा र एक च्याम्पियन्स लिगको उपाधि जितेका छन्। स्वारेज २०२०÷२१ को सिजनअघि ला लिगाकै अर्को क्लब एथ्लेटिको मड्रिडसँग अनुबन्ध भएका हुन्।

“आज बिहान मेस्सीसँग कुरा भएको थियो। हिजोको जितबाट उनी धेरै खुशी छन्,” स्वारेजले भने, “उनले अद्भुत प्रदर्शन गरिरहेका छन्। मेस्सी विश्वकै उत्कृष्ट खेलाडी हुन्। मेसीले आफ्नो चाहनाअनुसार जुनसुकै क्लबबाट पनि सन्यास लिन सक्छन्।”

बार्सिलोनाले बुधबारराति कोपा डेल रेको क्वार्टरफाइनलमा उत्कृष्ट पुनरागमन गर्दै ग्रानाडामाथि ५–३ को रोमाञ्चक विजय हासिल गरेको थियो।

बार्सिलोनामा ६ वर्ष बिताएका स्वारेज अहिले एथ्लेटिको मड्रिडलाई उपाधि जिताउने होडमा छन्। ३४ वर्षे फरवार्ड स्वारेजले ला लिगाको जारी सिजन १४ गोल गरिसकेका छन्।

डिएगो सिमोनको एट्लेटिको मड्रिडले शीर्ष स्थानमा दश अंकको अग्रता लिएको छ। एथ्लेटिकोले अझ दोस्रो स्थानको बार्सिलोना भन्दा एक खेल कम खेलेको छ।

प्रतिक्रिया दिनुहोस्