चन्द्रपुरको पहिलो जितमा सविताको ह्याट्रिक

काठमाडौं। सविता रानामगरको ह्याट्रिकप्रेरित चन्द्रपुर नगरपालिकाले आज राष्ट्रिय महिला लिगमा चौदन्डीगढी नगरपालिकालाई ७-१ गोलअन्तरले पराजित गर्दै विजय हासिल गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा चौदन्डीगढीले २३औं मिनेटमा अञ्‍जना थुलुङको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफको अन्तिम मिनेटमा चन्द्रपुरकी दिलकुमारी रानामगरले बराबरी गोल फर्काइन्।

रजनी ठोकरले ४७औं मिनेटमा गरेको गोलबाट चन्द्रपुरले अग्रता लिएको थियो। ५१औं मिनेटमा सविताले चन्द्रपुरको अग्रता बढाइन्। ६९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी सविताले ७८औं मिनेटमा ह्याट्रिक गरेकी थिइन्। प्रतियोगितामा यो चौथो ह्याट्रिक हो। यसअघि एपीएफकी सावित्रा भण्डारीले दुई पटक र त्रिभुवन आर्मीको विमला चौधरीले ह्याट्रिक गरेका थिए।

बैकल्पिक खेलाडी सुनिता भोलानले ८५औं मिनेटमा गोल गर्दै चन्द्रपुरको अग्रता बढाइन्। अन्तिम समयमा दिलकुमारीले अर्को गोल थपेपछि रौतहटको चन्द्रपुरले फराकिलो विजय हासिल गरेको हो।

लिगमा चन्द्रपुरको यो पहिलो जित हो। जितसँगै तीन अंक जोडेको चन्द्रपुर लिगको चौथो स्थानमा उक्लिएको छ। चौदण्डीगढीले भने अहिलेसम्म अंक जोड्न सकेको छैन। ६ अंकका साथ एपीएफ शीर्ष स्थानमा छ भने समान चार अंक जोडेको त्रिभुवन आर्मी र नेपाल पुलिस क्बल दोस्रो र तेस्रो स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस्