पुष्पलाल स्मृति ब्याडमिन्टन लहानमा हुने

काठमाडौं। योनेक्स सनराइज पुष्पलाल स्मृति र्‍याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको दशौं संस्करण लहानको गोलबजारमा पुस २९ गतेदेखि हुने भएको छ।

माघ ३ गतेसम्म चल्ने प्रतियोगिता राष्ट्रिय ब्याडमिन्टन संघ र गोलबजार नगरपालिकाले संयुक्तरूपमा आयोजना गर्ने तथा नेपाल ब्याडमिन्टन संघ र गोलबजार ब्याडमिन्टन संघको सहयोग रहने रदीप महर्जनले बताए।

ब्याडमिन्टनको विकास र विस्तार गर्ने उद्धेश्यले प्रतियोगितालाई उपत्यका बाहिर लगिएको बताइएको छ।

प्रतियोगितामा पुरुष एकलतर्फ वरियाताको शीर्ष १६ स्थानका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्। महिला एकलतर्फ शीर्ष १२ स्थानका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्। शीर्ष १६ बाहेकका पुरुष एकल, शीर्ष १२ बाहेकका महिला एकल, पुरुष युगल, महिला युगल, यु–१७ छात्र र छात्रा, तथा ४५ बर्ष माथिको भेट्रान्स युगल गरि १० विधामा प्रतिपर्धा हुनेछ।

प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघसँग आवद्ध ४७ जिल्ला, तीन विभागिय टोली नेपाली सेना त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब गरि करिव २०० खेलाडीहरुले सहभागिता जनाउने आयोजकले बताए।

प्रतियोगिताको र्‍याङ्किङ्ग प्रतिस्पर्धामा सहभागी खेलाडीहरूले सहभागिता भएबापत एक हजार ५ सय रूपैयाँ प्राप्त गर्नेछन्। पहिलो चरण लिगमा विजयी हुने खेलाडीहरूले प्रत्येक खेल बापत थप एक हजार ५०० रूपैयाँ प्राप्त गर्नेछन्।

क्वाटरफाईनमा विजयी खेलाडीहरूले ८ हजार रूपैयाँ प्राप्त गर्ने छन् भने सेमिफाइनलमा विजयी खेलाडीहरूले १६ हजार रूपैयाँ नगद प्राप्त गर्नेछन्। यस्तै प्रतियोगितामा विजयी खेलाडीले थप २० हजार रूपैयाँ नगद पुरस्कार जित्नेछन्। उपविजेताले थप ५ हजार प्राप्त गर्नेछन्।

र्‍याङ्किङ्ग बाहेकका अन्य विधातर्फ विजेता खेलाडीले २० हजार रूपैयाँ, उपविजेताले १० हजार रूपैयाँ पुरस्कार जित्नेछन्। शीर्ष चारमा पुग्नेले समान पाँच हजार रूपैयाँ प्राप्त गर्नेछन्। यु–१७ छात्र तथा छात्रातर्फका विजेताले १५ हजार र उपविजेताले आठ हजार रूपैयाँ पुरस्कार जित्नेछन्। शीर्ष चारमा पुग्न सफल खेलाडीले समान चार हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्