सालाह रियाल वा बार्सिलोना जान सक्ने !
काठमाडौं। लिभरपुलका स्टार मोहम्मद सालाहले स्पेनिस ला लिगाको च्याम्पियन रियाल मड्रिड वा बार्सिलोना सरुवा हुने सम्भावना नकार्न नमिल्ने बताएका छन्।

२०१७ मा एएस रोमाबाट लिभरपुल आएयता सालाहको प्रदर्शन प्रत्येक सिजन सनसनीपूर्ण रहँदै आएको छ। लिभरपुललाई च्याम्पियन्स लिग र इङलिस प्रिमियर लिगको उपाधि जिताउन सालाहको भूमिका महत्वपूर्ण थियो।

इजिप्टका अन्तर्राष्ट्रिय खेलाडी सालाह लिभरपुलमा पूर्ण रुपमा स्थापित भए पनि पछिल्लो समय उनलाई रियाल र बार्सिलोनाले आँखा लगाइरहेको चर्चा छ।

स्पेनिस ला लिगामा सरुवा हुने चर्चाको विषयमा सोधिएको प्रश्नमा सालाहले भने, “मेरो विचारमा रियाल मड्रिड र बार्सिलोना दुई ठूला क्लब हुन्। भविश्यमा के हुन्छ भनेर कसैले पनि भन्न सक्दैन। त्यसैले कुनै पनि सम्भावनालाई नकार्न मिल्दैन। तत्कालका लागि म लिभरपुलबाट फेरी प्रिमियर लिग र च्याम्पियन्स लिग जित्ने विषयमा केन्द्रित छु।”

सालाहले लिभरपुलमा कति समयसम्म बस्ने भन्ने विषयमा तत्काल उत्तर दिन निक्कै कठिन हुने बताए। लिभरपुलमा सबैखाले कीर्तिमान तोड्ने लक्ष्य रहेको बताउँदै उनले भने, “तर मेरो हातमामात्र सबथोक छैन। क्लब र भविश्यको हातमा धेरै कुरा छ।”

प्रतिक्रिया दिनुहोस्