अस्ट्रेलियासँग हारेपछि विराट कोहलीले भने- ब्याट्सम्यानमा रन बनाउने इच्छा देखिएन

काठमाडौं। अस्ट्रेलियाविरुद्धको बोर्डर-गावास्कर ट्रफी टेस्ट शृंखलाको पहिलो खेलमा पराजय भोगेपछि भारतीय कप्तान विराट कोहलीले आफ्ना ब्याट्सम्यानहरुमा रन बनाउने इच्छा नै नदेखिएको प्रतिक्रिया दिएका छन्।

एडेलेइड टेस्टमा ८ विकेटको फराकिलो अन्तरमा पराजित भएको भारतीय टोलीका ब्याट्सम्यानहरुको प्रदर्शन तेस्रो दिन अत्यन्तै निराशाजनक थियो। टेस्टको दोस्रो इनिङमा पूरा भारतीय टोलीको स्कोर ३६ रनमात्र थियो।

कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसकेको दोस्रो इनिङमा भारतका लागि मायंक अग्रवालले बनाएको ९ रन सबभन्दा ठूलो व्यक्तिगत स्कोर थियो। हनुमा बिहारीले ८ तथा पृथ्वी शाँ, विराट कोहली, ऋदिमन शाह र उमेश यादवले समान ४ रन बनाए भने जसप्रित बुमराले २ रन जोडे। अजिन्क्या राहने र रविचन्द्रन आश्विनले खाता खोल्न पनि सकेनन्।

“यो अत्यन्तै दुःखद कुरा हो। ब्याट्सम्यानहरुले रन बनाउने इच्छा देखाएनन्। यो हार शव्दमा बयान गर्न सकिने खालको छैन। हामीले दुई दिन राम्रो क्रिकेट खेल्यौं, तर एक घण्टामा खेल हाम्रो हातबाट फुत्कियो,” कोहलीले भने।

आगामी खेलमा सनसनीपूर्ण पुनरागमन जनाउने कोहलीको विश्वास थियो। भारत र अस्ट्रेलियाबीच दोस्रो टेस्ट डिसेम्बर २६ बक्सिङ डेको दिनसुरु हुनेछ। तर त्यसअघि नै कप्तान कोहली सुत्केरी विदाका लागि घर फर्किइसक्नेछन्। श्रीमती अनुश्का शर्मा सुत्केरी हुने बेला भएकाले कोहली घर फर्किन लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्