आर्सनलका लागि आर्टेटा उपयुक्त प्रशिक्षक: ग्वार्डिओला

काठमाडौं। इङलिस प्रिमियर लिगमा २०२०-२०२१ को सिजन सुरुआत निराशाजनक रहे पनि आर्सनलका लागि मिकेल आर्टेटा सबभन्दा सही प्रशिक्षक भएको पेप ग्वार्डिओलाले बताएका छन्।

घरेलु इमिरेट्स रंगशालामा आर्सनल आइतबार बर्नलीसँग पराजित भएको थियो। जुन घरेलु मैदानमा आर्सनलको लगातार चौथो हार थियो।

१९५९ यताकै सबभन्दा खराव सुरुआत गरेको आर्सनल हाल १२ खेलको समाप्तीमा प्रिमियर लिग अंकतालिकाको १५औं स्थानमा छ। शीर्ष स्थानको टोटेनह्यामभन्दा १२ अंकले पछि रहेको टोली रेलिगेसन क्षेत्रभन्दा पाँच अंकलेमात्र माथि छ।

लगातारका खराव नतिजाका कारण प्रशिक्षकमाथि दबाब बढ्दो छ। तर म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओला सिटीमा हुँदाका आफ्ना सहयोगी आर्टेटा आर्सनलका लागि सबभन्दा उपयुक्त प्रशिक्षक भएको दाबी गर्छन्।

“आगामी वर्षहरूमा पनि आर्टेटाभन्दा राम्ररी टिम चलाउनका लागि आर्सनलसँग अर्को प्रशिक्षक छैन,” ग्वार्डिओलाले भने, “मैले उनको समर्थन गर्न खोजेको होइन। तर उनी विश्वकै राम्रा प्रशिक्षकमध्ये एक हुन्। मैले उनीसँग काम गरिसकेको आधारमा यो कुरा भनेको हुँ।”

प्रतिक्रिया दिनुहोस्