बिग बास लिग खेल्न सन्दीप अस्ट्रेलियातिर

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका स्टार लेग स्पिनर व्यावसायिक क्रिकेट खेल्नका लागि आज अस्ट्रेलिया प्रस्थान गर्दैछन्।

अस्ट्रेलियन बिग बास लिगको टोली होबार्ट हुरिकान्ससँग अनुबन्धित भएका सन्दीप आज ११ बजे कतार एयरवेजको विमानबाट त्यसतर्फ प्रस्थान गर्ने नेपाली राष्ट्रिय टोलीका व्यवस्थापक रमन सिवाकोटीले देखापढीलाई जानकारी गराएका छन्।

अघिल्लो दुई सिजन मेलबर्न स्टार्सबाट बिग बास लिग खेलेका सन्दीपले यसपाली भने टिम परिवर्तन गरेका हुन्। नयाँ टीमबाट खेल्न जान लागेका सन्दीपले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सामाजिक सञ्जाल ट्विटरमा फोटो पोस्ट गर्दै ‘एडेलेइड सुन’ लेखेका छन्।

इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सको टोलीमा भए पनि यसपाली उनले संयुक्त अरब इमिरेट्समा भएको प्रतियोगितामा मैदान उत्रिन पाएका थिएनन्। त्यसको जोश अस्ट्रेलियामा पोख्नका लागि पनि सन्दीपले केही समय प्रतिक्षा गर्नुपर्नेछ।

कोरोना भाइरसको महामारीका कारण अस्ट्रेलियामा विदेशबाट जाने जोसुकैले अनिवार्य दुई हप्ता क्वारेन्टिन बस्नुपर्ने व्यवस्था भएका कारण सन्दीपले त्यहाँ पुग्नेवित्तिकै खेल्न पाउने छैनन्। भोली दिउँसो एडेलेइड पुग्ने सन्दीपले कम्तिमा हुरिकान्सका ६ खेल गुमाउने छन्।

“त्यहाँ अनिबार्य क्वारेन्टिन बस्नुपर्ने व्यवस्थाका कारण सन्दीपले केही खेल गुमाउनेछन्। कम्तिमा यो डिसेम्बरभरीका खेल उनले टेलिभिजनमा हेर्नुपर्नेछ,” सिवाकोटीले भने।

सन्दीपको हुरिकान्सले लिगमा दुई खेलमा दुई जित हासिल गरिसकेको छ। पहिलो खेलमा सिडनी सिक्सर्सलाई १६ रनले हराएको टोलीले दोस्रो खेलमा एडेलेइड स्ट्राइकर्सलाई ११ रनको अन्तरमा पराजित गरेको थियो।

टोलीले यो डिसेम्बरमा थप चार खेल खेल्नेछ। आजै एडेलेइड स्ट्राइकर्ससँग अर्को खेल खेल्ने तयारीमा रहेको टोलीले डिसेम्बर १९ मा मेलबर्न रेनेगाड्स तथा डिसेम्बर २७ र ३० मा ब्रिसबेन हिटसँग खेल्नेछ। सन्दीपले आसन्न चार खेल गुमाए पनि जनवरी २ मा आफ्नै पूर्व क्लब मेलबर्न स्टार्सविरुद्धको खेलका लागि भने उनी उपलब्ध हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्