विश्वकप विजेता इटालियन स्टार रोसीको मृत्यु

एजेन्सी। इटालीका विश्वकप विजेता फरवार्ड पाउलो रोसीको ६४ वर्षको उमेरमा मृत्यु भएको छ।

केही समययता विभिन्न खाले स्वास्थ्य समस्यासँग जुध्दै आएका रोसीको मृत्युको खवर उनकी पत्नी फेडेरिका कापेलेटी र रोसी कार्यरत रहेको राई स्पोर्टसले पुष्टी गरेको छ।

“सधैका लागि,” कापेलेटीले रोसीसँगको तस्बिर इन्स्टाग्राममा पोष्ट गर्दै लेखेकी छिन्।

इटालीका लागि ४८ अन्तर्राष्ट्रिय खेल खेल्दै विश्वकप १९८२ को गोल्डेन बुट विजेता रोसीले २० गोल गरेका थिए। युभेन्ट्सका लागि व्यावसायिक फुटबल खेलिरहँदा त्यही वर्ष रोसीले बालन डी अर प्ुरस्कार पनि जितेका थिए।

१९८१ मा टुरिन फर्किनुअघि युभेन्टसबाटै करियर सुरु गरेर रोसीले कोमो, भिसेन्जा र पेरुजियाबाट पनि व्यावसायिक फुटबल खेलेका थिए। भिसेन्जाबाट १९७७-७८ को सिजनमा उनले २४ गोल गर्दै इटालियन सिरी ‘ए’ को उच्च गोलकर्ता पुरस्कार जितेका थिए।

युभेन्टसमा चार सिजन बिताउने क्रममा उनले दुई पटक इटालियन सिरी ‘ए’, एक पटक कोपा इटालिया र एक पटक युरोपियन कप तथा अन्य थुप्रै उपाधि जितेका थिए।

१९८२-८३ को युरोपियन कपमा रोसी उच्च गोकलर्ता बनेका थिए। तर उनको टोली युभेन्टस फाइनलमा ह्यामबर्गसँग पराजित भएको थियो।

व्यावसायिक फुटबलको अन्तिम समयतिर भने उनले हेलास भेरोना र एसी मिलानबाट खेलेका थिए।

१९८२ को विश्वकपमा ब्राजिलविरुद्ध ह्याट्रिक गर्दै रोसीले इटालीलाई सेमिफाइनलको बाटोमा डो¥याएका थिए। सेमिफाइनलमा उनले पोल्यान्डविरुद्ध दुई गोल ठोकेका थिए। फाइनलमा पश्चिम जर्मनीविरुद्ध पनि उनले नै पहिलो गोल गरेका थिए। जुन खेल इटालीले ३-१ को नतिजामा जितेको थियो।

इटालीका लागि विश्वकपमा सर्बाधिक गोल गर्ने तीन खेलाडीको सुचीमा रोसीसँगै रोबर्टो बाजियो र क्रिस्टियन भियरी छन्। तीनै जनाले विश्वकपमा समान ९ गोल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्