रसेलभन्दा हार्दिक पाण्ड्या उत्कृष्ट- हरभजन सिंह

एजेन्सी। भारतीय क्रिकेट टोलीका पूर्व स्पिनर हरभजन सिंहले अलराउन्डर हार्दिक पाण्ड्याको तारिफ गर्ने क्रममा उनी वेस्ट इन्डिजका आन्द्रे रसेलभन्दा उत्कृष्ट खेलाडी भएको बताएका छन्।

अस्ट्रेलिया भ्रमणमा रहेको भारतीय टिमका अलराउन्डर पाण्ड्याको उच्च प्रदर्शनमा भ्रमणकारी टोलीले शनिबार दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा जित हासिल गरेको थियो।

भारतलाई जित दिलाउने क्रममा पाण्ड्याले २२ बलमा ४२ रनको आक्रामक इनिङ खेलेका थिए। अन्तिम ओभरमा पाण्ड्याले दुई छक्का प्रहार गरेपछि भारत दोस्रो ट्वान्टी-२० खेल जित्दै तीन खेलको शृंखलामा २-० को अग्रता लिन सफल भएको थियो।

अस्ट्रेलियाविरुद्धको त्यही उच्च प्रदर्शनपछि हरभजनले पाण्ड्या भारतीय टिमका लागि ‘सही’ फिनिसरको रुपमा स्थापित भइसकेको बताए।

“पाण्ड्याको आत्मविश्वास प्रत्येक खेलमा बढ्दै गएको छ। भारतीय टिमका लागि उनी पूर्ण रुपमा उत्कृष्ट फिनिसर बनिसकेका छन्। उनी रसेलभन्दा उत्कृष्ट खेलाडीका रुपमा विकसित भइसकेका छन्,” हरभजनलाई उद्यृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेका छन्, “पाण्ड्या आफूले चाहेको बेला छक्का प्रहार गर्न सक्ने खेलाडी हुन्। खेललाई कसरी क्लाइमेक्स दिनुपर्छ भन्ने उनलाई राम्रो ज्ञान छ।”

पाण्ड्याको जिम्मेवारी वहन गरेर खेल्ने बानी हरभजनलाई सबभन्दा बढि मन पर्छ। आवस्यकता पर्दा चौका र छक्काका लागि लामो सट खेल्ने तथा अन्य समय एक÷दुई रनका लागि पनि क्रिजमा दौडिने क्षमताले गर्दा पाण्ड्याले आफूलाई भारतीय टिममा स्थापित गरेको उनको बुझाई छ।

“पाण्ड्याको नारीमा ठूला सटका लागि आवस्यक पर्ने शक्ति छ। साथमा उनी प्राविधिक रुपमा पनि परिपक्व खेलाडी हुन्,” हरभजनले भने।

प्रतिक्रिया दिनुहोस्