इन्द्रसरोबरमा वाटर फेस्टिभल हुने

काठमाडौं। प्राकृतिक, साहसी र संस्कृतिसँग सम्बन्धित खेल संघहरको छाता संगठन नेपाल पर्वतीय खेलकुद महासंघको चौथो साधारणसभाले इन्द्रसरोबर वाटर फेस्टिभल तथा रारा फेस्टिभल गर्ने लगायतका निर्णय गरेको छ।

कोरोना भाइरस महामारीका कारण भर्चुअल माध्यमबाट भएको साधारणसभाले नेपालमा पर्यटकीय खेलको अध्ययन, हेरिटेज साइकल र्‍याली पोखरामा रणनीतिक कार्यशाला तथा दीगो पर्यटनको लागि नीतिगत तहमा लबिङ गर्नेलगायतका निर्णय गरेको महासंघका अध्यक्ष गोविन्द भट्टराईले जानकारी गराए।

महासंघका १५ सदस्य संघका प्रतिनिधि, सातवटै प्रदेशका पदाधिकारी, खेलकुद तथा दीगो पर्यटनका विज्ञहरु समेतको सहभागिता रहेको साधारणसभाको राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले उद्घाटन गरेका छन्।

सदस्य सचिव सिलवालले उद्घाटनको क्रममा नेपाललाई साहसिक तथा पर्यटकीय खेलको अन्तर्राष्ट्रिय केन्द्र बनाउनेतर्फ ध्यान दिन महासंघलाई सुझाए। २०२२ मा नेपालमा साहसिक तथा पर्यटकीय खेकलुदको अन्तर्राष्ट्रिय महोत्सव आयोजना गर्नका लागि तत्काल तयारी थाल्न पनि सदस्यसचिव सिलवालले आह्वान गरे।

साधारणसभाले महासंघको सचिवालय, विधान संसोधन समिति, पर्वतीय खेलकुद महोत्सव व्यवस्थापन टिम, नीतिगत तथा योजना कमिटी, संगठन तथा प्रशासनिक व्यवस्थापन, तालिम टिम, बालबालिका खेलकुदको अध्ययन टिम, अन्तर्राष्ट्रिय परम्परागत आर्चरी प्रतियोगिता व्यवस्थापन टिमलगायतका लागि जिम्मेवारी बाँडफाँड गरिएको अध्यक्ष भट्टराईले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्