भारतीय भलिबल टोली आइपुग्यो, महिला भलिबलमा नेपाल र भारत भिड्दै

काठमाडौं। बंगलादेशमाथि सहज जित निकाल्दै १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सुखद सुरुआत गरेको नेपाली महिला टोलीले आज बलियो प्रतिद्धन्द्धी भारतविरुद्ध खेल्दैछ।

भारतीय भलिबल टोली भलिबलको औपचारिक उद्घाटन हुँदासम्म नेपाल आइपुगेको थिएन। १३औं सागको औपचारिक उद्घाटन मंसिर १५ गते हुने भए पनि भलिबल ११ मंसीरबाट शुरु भइसकेको छ। भारतीय टोली गएराति मात्र नेपाल आइपुगेको हो।

भारतीय महिला टोलीले आज बिहान ८ देखी ९ बजेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्ड हलमा अभ्यास गरेको छ। नेपाली महिला टोली र भारतको पूरुष टोलीले पनि यहीँ अभ्यास गर्दैछन्।

नेपाली महिला टोलीले आज ५ बजे समूह विजेता बन्नका लागि भारतविरुद्ध खेल्नेछ। नेपाली महिला टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले बंगलादेशविरुद्ध गरेको गल्ती भारतविरुद्ध नदोहरिने बताए।

‘भारत दक्षिण एशियाकै पावर हाउस हो। उनीहरुसँग खेल्दा हामी सम्पूर्ण क्षमतासहित राम्रो प्रदर्शन गर्दै समर्थकलाई रोमाञ्चित बनाउने छौं,’मुख्य प्रशिक्षक भट्टले भने।

नेपाल, भारत बंगलादेश समूह ‘ए’मा छन्। भारतलाई पराजित गरे नेपाल समूह विजेता बन्नेछ। पराजित भए सेमिफाइनल यात्राका लागि बंगलादेश र भारतबीचको खेल कुर्नुपर्ने हुन्छ।

समूह ‘बी’मा माल्दिभ्स र श्रीलंका छन्। पाकिस्तानले अन्तिममा नाम फिर्ता लिएपछि समूह ‘बी’मा दुई टोली मात्र भएको हो। हिजो पाकिस्तानविरुद्धको खेल तालिका रहेको माल्दिभ्सले ‘वाकओभर’ पाएको थियो।

भारतीय पुरुष टोलीले आज ३ बजे बंगलादेशविरुद्ध खेल्नेछ। बंगलादेशले बुधबार पहिलो खेलमा नेपाललाई ३–२ को सेटमा पराजित गरेको थियो। जितसँगै बंगलादेशले सेमिफाइनलको सम्भावना बलियो बनाएको छ। आज भारतलाई पराजित गरे बंगलादेश विजेता बन्दै अन्तिम चारमा पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्