नेपोलीसँग बराबरीमा रोकियो साविक विजेता लिभरपुल

काठमाडौं। इटालियन क्लब नेपोलीसँग बराबरीमा रोकिएपछि साविक विजेता लिभरपुलले च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाउन समूह चरणको अन्तिम खेलमा कम्तिमा १ अंक लिनु पर्ने भएको छ।

इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले जितेको भए समूह विजेता बन्दै समूह ‘ई’ बाट अन्तिम १६ मा स्थान बनाउने थियो।

तर, घरेलु मैदान एनफिल्डमै १-१ को बराबरी खेलेपछि लिभरपुलले अन्तिम खेलमा अस्ट्रियाको क्लब साल्जबर्गसँग कम्तिमा पनि बराबरी गर्नुपर्ने दवाब थपिएको छ।

पाँच खेलबाट लिभरपुल १० अंकका साथ शीर्ष स्थानमा छ। दोस्रो स्थानको नेपोलीले ९ अंक जोडेको छ।

तेस्रो स्थानमा रहेको साल्जबर्गको ७ अंक छ। समूहको अन्तिम खेल साल्जबर्गले जिते १० अंक हुनेछ र गोलअन्तरमा लिभरपुल पछि पर्नेछ।

एनफिल्डमा भ्रमणकारी टोलीका द्रिइस मार्टिनेजले २१औं मिनेटमा अग्रता दिएका थिए।

उनले जियोभानी डी लोरेन्जोको पासमा गोल गरेका थिए। डेजान लोभरेनले ६५औं मिनेटमा गोल गरेपछि लिभरपुलले हार टारेको थियो।

च्याम्पियन्स लिगको पछिल्लो १६ खेलमा अपराजित लिभरपुल ११ मा जित र ५ खेलमा बराबरी छ।

११ मंसीरमै बेल्जियम भ्रमणमा निस्किएको साल्जबर्गले गेन्कलाई ४–१ ले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्