साउथह्याम्टनसँग हार्यो लिग लिडर एभर्टन

एजेन्सी। गए राति साउथह्याम्टनसँग २-० ले पराजित भएसँगै एभर्टनको इङ्लिस प्रिमियर लिगमा अपराजित यात्रामा पूर्णविराम लागेको छ।

यसअघिका ५ खेलमा ४ जित र १ बराबरीसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको एभर्टनले छैठौं खेलमा पराजय भोगेको हो।

साउथह्याम्टनको मैदानमा भएको खेलको २७औं मिनेटमा जेम्स वार्ड प्राउजले गरेको गोलसँगै भ्रमणकारी एभर्टन १-० ले पछि परेको थियो।

त्यसको ८ मिनेट नबित्दै चे आडम्सले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए।

पहिलो हाफमा २-० ले पछि परेको एभर्टनका लेफ्ट ब्याक लुकास डिएनले रातो कार्डको सामना गरेपछि कार्लो एन्सेलोटीको टीम १० जनामा सीमित भएको थियो।

बाँकी समयमा रक्षापंक्तिमा सुधार गरे पनि गोल गर्न नसक्दा एभर्टनले पराजित हुनुपर्‍यो।

जितसँगै ६ खेलबाट १० अंक जोडेको साउथह्याम्टन तालिकाको छैठौं स्थानमा उक्लिएको छ।

समान खेलबाट १३ अंकसहित एभर्टन शीर्ष स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्